काठमाडौँ । दार्चुला पावर लिमिटेडले सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ल्लामा २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले मार्मा गाउँपालिकामा अवस्थिल चमेलिया नदीको पानीलाई उपयोग गरी नदी प्रवाहमा आधारित आयोजना निर्माण गर्न लागेको हो ।
आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार भई वन तथा वातावरण मन्त्रालयबाट २०८० भदौ ७ गते नै स्वीकृत भएको छ । कम्पनीले आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा उत्पादन अनुमति जारी गर्न अन्तिम तयारी गरिरहेको छ ।
आयोजनाको डिजाईन डिस्चार्ज २५.१७ घनमिटर प्रतिसेकेण्डको रहेको छ । ९.६६ मिटर अग्लो बाँध चमेलिया नदी र घट्नेखोलाको दोभानबाट करिब ५०० मिटर तल मार्मा गाउँपालिका वडा नम्बर २ नजिकै अवस्थित रहनेछ ।
आयोजनामा ७०८० मिटर लामो हेडरेस पाइप, ५८० मिटर लामो सुरुङ र १४५ मिटर लामो पेनस्टक पाइपमार्फत पानीलाइ अर्धसतही विद्युतगृमा पुर्याइनेछ । आयोजनाबाट उत्पादीत विद्युत् ८.५ किलोमिटर लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट २०२९ जुन १० भित्र उत्पादन थाल्ने कम्पनीकाे लक्ष्य छ ।








