काठमाडाैँ । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २०८१ फागुन २ गते इमेलमार्फत स्थगित गर्न भन्दै अमेरिकी सरकारले पत्राचार गरेपछि कार्यक्रम स्थगित भएकाे हाे ।
नेपाल सरकार र यस निकायबीच २०७४ भदौ २९ गते एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अमेरिकी सहयोग नियोग (युएसएड) अन्तर्गतका विभिन्न ६ परियोजना रद्द नै गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ ।
अर्थमन्त्रालयका अनुसार हालसम्म ८.४६ प्रतिशत काम पूरा छ। चालु आर्थिक वर्षमा कुल ९ अर्ब ९० करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको यस परियोजनामा पुस मसान्तसम्म ८३ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।
एमसीसीको नेपालस्थित कार्यालयका अनुसार हालसम्म १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन ठेक्का सम्झौता भइसकेको छ भने ३७९ किलोमिटर प्रसारण लाइनका लागि यस वर्ष बोलपत्र आव्हान गर्ने तयारी भइरहेको थियो ।
यस्तै, १० जिल्लामा ८५६ वटा प्रसारण टावरका गज निर्माणका लागि जग्गा प्राप्ति, दुई वर्षे जिविकोपार्जन कार्यक्रममार्फत् २७० जनालाई तालिम, ९ जिल्लामा मुआब्जा निर्धारण वितरण समिति गठन, धादिङ, मकवानपुर र नवलपरासीमा मुआब्जा निर्धारण र ९ जिल्लामा पहिलो भरणको रुख गणना कार्य सम्पन्न भएको बताइएको छ।
अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो । अमेरिकाको ५०० मिलिअन डलर र नेपालको १९७ मिलिअन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो। अब बनिसकेको काम के हुन्छ भन्ने विषय चासोका रुपमा देखिएको छ ।