काठमाडाैँ । ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण सुरु भएको छ।हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको आयोजनाको सुरुङ निर्माण कार्यको आइतबार म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर जुग्जालीले धवलागिरु गाउँपालिका–४ नाउराको अडिट २ र सिम्कोश दोभानमा रहेको बाँधको अडिट १ मा विस्फोट गराएर शिलन्यास गरे।
आगामी २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु भएकाे छ । पहुँचमार्ग लगायत पूर्वाधार निर्माण सकेर सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण थालिएको छ ।
माथिल्लो म्याग्दीले अपर म्याग्दी–१ र म्याग्दीखोला जलविद्युत आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।
हालसम्म आयोजनास्थल पुग्ने २१ किलोमिटर पहुँचमार्ग पूरा भई आवश्यक ५० टन क्षमताको १ र ३० टन क्षमताको १ बेलिब्रिज पनि सञ्चालनमा आइसकेको छ । आयोजनाले निर्माण गर्नुपर्ने करिब ९ किलोमिटर पहुँचमार्गको काम समेत पूरा भएको कम्पनीले जानकारी दिएको छ । सुरक्षार्थ आवश्यक नेपाली सेनाका लागि आवास (आर्मी क्याम्प) को व्यवस्था र अन्य सिभिल संरचनाका लागि ठेकेदार परिचालन भइ कार्य सुरु भइसकेको छ ।
आयोजनाका लागि आवश्यक निजी जग्गा १.६९ हेक्टर खरिद गरिएको तथा सरकारी जग्गा ३.६९ हेक्टर अधिग्रहण गरी यसको शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, वन सम्बन्धी सम्पूर्ण कार्यहरू सकिइसकेको छ ।
बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । ब्याजसहित ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी रहनेछ ।
आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो । आयोजनाको पे ब्याक पिरियड करिब १२ वर्ष रहेको छ ।