काठमाडौँ । तुन्दी पावर कम्पनी प्रालिले म्याग्दीमा निर्माण गरिरहेको ३७.५ मेगावाटको मंगले राहुघाट जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले आयोजनाबाट आगामी एक महिनाभित्र परीक्षण गर्ने तयारी गरिरहेको छ ।
जिल्लाको रघुगङ्गा गाउँपालिका–८ को बन्दीमा बाँध, रघुगङ्गा–७ को चिमखोलामा विद्युतगृह र ५ हजार ३२८ मिटर लामो सुरुङको सबै काम पूरा भइसकेको कम्पनीले जानकारी दिएको छ ।
यही कम्पनीले जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना काम अन्तिम चरणमा पुर्याएको छ । अहिले विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको छ ।
रघुगङ्गा–७ चिमखोलामा बाँध र रघुगङ्गा–४ दग्नामको फेदीमा विद्युतगृह रहेको यस आयोजनाको सुरुङ ४९०० मिटर लामो छ । दुई वटै आयोजनाको अनुमानित लागत १३ अर्ब रुपैयाँ रहेको छ ।
अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म २२० केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रो पावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।
राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।