Wednesday, April 30, 2025
spot_img

चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत

spot_img

Share

spot_img

काठमाडौ । उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ । गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोको भरमा जीवन गुजार्न बाध्य थिए ।

गाउँमा बिजुली नहुँदा गाउँले अन्धकारमा बस्न बाध्य भएको स्थानीय लोप्साङ धार्के लामाले बताए । “गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत् आयोजना बगायो । त्यतिबेला गाउँले मिलेर जलविद्युत् मर्मत गरी अस्थायी रुपमा बिजुली बालेका थियौँ । पछि फेरि भदौमा आएको पहिरोले जलविद्युत् बगायो”, उनले भने,“भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली आए पनि नियमित थिएन । हाल मर्मत सम्पन्न भई नियमित रुपमा बिजुली बलेको एक हप्ता भयो ।”विद्युत् नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानीसमेत गर्न नपाइएको चुमनुब्री –६ चुम्चेतका वडाअध्यक्ष सरोज लामाको भनाइ छ ।

अहिले बिजुली बलेपछि गाउँलेलाई तोरी, मकै, गहुँलगायत खाद्यन्न कुटानीपिसानी गर्न सहज भएको छ ।“यता खासै रुख पाइँदैनन् । गाउँमा बिजुली नहुँदा दाउरा बालेर बस्नुपर्ने बाध्यता थियो । अलिअलि भएका रुख पनि फँडानी गरिएको थियो ”, उनले भने, । सो गाउँमा केन्द्रीय प्रशारणको बिजुलीबत्तीको पहुँच पुगेको छैन ।

गाउँलेले विसं २०७९ जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती बाल्ने गरेका थिए । गत भदौमा चुम्चेत खोला (ताम्जाखोला) मा उत्पादित सो लघुजलविद्युत् आयोजनाको मुहान, कुलो र ट्याङ्की सबै बगाएको उक्त आयोजनाका अध्यक्ष गोपाल लामा बताउछन् ।

कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाले निर्माण सम्पन्न गरेको उक्त आयोजना भत्किएपछि चुमनुब्री–६ अन्तरगतका गाउँ अन्धकार बनेका थिए । पहिरोले झन्डै रु एक करोडको क्षति पु¥याएको लामाको भनाइ छ ।

“साउनको पहिरोले खासै क्षति पु-याएको थिएन, त्यतिबेला सामान्य मर्मत गरेर बिजुली बालेका थियौँ”, उनले भने, “भदौको पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो । त्यसपछि पूर्णरुपमा मर्मत सम्पन्न गरेर बिजुली वितरण गरेको झन्डै एक हप्ता भयो । ” लामाका अनुसार आयोजनाले भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली बालेको थियो ।कादुरी संस्था आफैले मर्मत गरेर गाउँलाई पुनः झिलिमिली बनाएको अध्यक्ष लामाको भनाइ छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img