काठमाडाैँ । सरकारले नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक ऊर्जाकाे प्रवर्द्धन तथा विस्तार गर्ने घोषणा गरेका हुन् ।
राष्ट्रपति पाैडेलले नीति तथा कार्यक्रममा आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका लागि ऊर्जा विकास मार्गचित्र २०८१ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए ।
त्यसैगरी सुक्खायाममा समेत विद्युतको मागलाई सम्बोधन गर्न र देशको ऊर्जा सुरक्षा सुनिश्चित गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत आयोजनाहरूको विकासमा जोड दिइनेछ ।
संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अपग्रिड सौर्य तथा वायु, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् आपूर्ति विस्तार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी, जलस्रोतको बहुपक्षीय उपयोग गरिने कार्यक्रममा उल्लेख छ । विद्युतको माग अधिक हुने समयको लागि आपूर्ति व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्न नदी पथान्तरण र जलाशययुक्त आयोजनाहरूको कार्यान्वयन गरिनेछ ।
जलवायु परिवर्तन र भूकम्पजन्य सङ्कटग्रस्त क्षेत्रमा जल उत्पन्न विपद् व्यवस्थापन र सिँचाइ प्रणालीको पुनर्निर्माण गरिनेछ। जल तथा मौसम केन्द्रको सञ्जाल विस्तार र स्तरोन्नति गरिनेछ । जलस्रोतको एकीकृत तथा बहुपक्षीय विकास गर्दै कृषि योग्य जमिनमा भरपर्दो सिँचाइ सेवा विस्तार गरिनेछ । कृषकहरूको सुविधालाई प्राथमिकता दिई सिँचाइ प्रणालीको पुनर्स्थापना गरिनेछ।
तीन तहका सरकारहरूको सहकार्यमा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य तथा वायु ऊर्जा, लघु तथा साना जलविद्युत र मिनी ग्रिडमार्फत विद्युत आपूर्ति विस्तार गरिनेछ । निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तर्देशीय उच्च क्षमताका प्रसारण लाइनहरूको विस्तार गरिनेछ ।
विद्युत प्रसारण संरचना निर्माण गर्न ट्रान्समिसन एवम् ह्विलिङ चार्ज निर्धारण लगायत अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाइनेछ ।