काठमाडौँ । भारतको टाटा मोटर्स लिमिटेडले आगामी पाँच वर्षमा यात्रुवाहक सवारी साधन व्यवसायमा तीन खर्ब ५० अर्ब भारतीय रूपैयाँ लगानी गर्ने भएको छ । टाटाले गाडी उत्पादनमा विविधिकरण ल्याउन बृहत् लगानी योजना सार्वजनिक गरेको हो ।
टाटाले विद्युतीय सवारीसहितको अन्य गाडी उत्पादन गर्न उक्त परिमाणको लगानी गर्ने भएको छ । योजनामा आर्थिक वर्ष २०२५ र आर्थिक वर्ष २०३० बीच विशेष गरी इलेक्ट्रिक भेहिकल (ईभी) व्यवसायको लागि छुट्याइएको १ खर्ब ६० अर्बदेखि १ खर्ब ८० अर्ब भारु छुट्याइएको छ ।
टाटाले दशकको अन्त्यसम्ममा ३० नयाँ मोडेलहरू लन्च गर्ने लक्ष्य राखेको छ । कम्पनीले आर्थिक वर्ष २०२७ सम्ममा बजारमा निजी गाडीको हिस्सा १६ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । यस्तै सन् २०३० सम्ममा १८ देखि २० प्रतिशतसम्म बढ्नेछ । जसमा ईभी गाडीको बिक्रीले महत्वपूर्ण योगदान पुर्याउने छ ।
टाटा मोटर्सले हाल भारतीय इलेक्ट्रिक यात्रुवाहक सवारी साधन बजारमा टियागो, टिगोर, पञ्च, नेक्सन र कर्भ ईभीका साथै भर्खरै लन्च गरिएको ह्यारियर ईभीजस्ता मोडेलहरूको साथ ठूलो हिस्सा ओगटेको छ ।
टाटाले एक वर्षमा ९९ हजार ६०० कमर्सियल भेहिकल एकाई बिक्री गरेको छ । यस्तै, टाटा प्यासेन्जर भेहिकल एक लाख ४७ हजार एकाई बिक्री गरेको छ । यागुअर, ल्यान्ड रोभर गाडी बिक्रीबाट टाटाले सात अर्ब ७० करोड पाउन्ड आम्दानी गरेको जनाएको छ ।