काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले ४०० केभी क्षेत्रमो निजगढ–पोखरिया लाइन निर्माण प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले मधेश प्रदेश अन्तर्गत पर्ने रौतहट जिल्लाको गुजरा नगरपालिकामा प्रस्तावित निजगढ सबस्टेसनदेखि पर्सा जिल्लाको पोखरीया सबस्टेसनसम्म लाइन निर्माण गर्न लागेको हो ।
निजगढ सबस्टेसनदेखि गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका भई बारा जिल्लाको कोल्बी नगरपालिका, करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका हुँदै जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा प्रस्तावित रमौली सबस्टेसन, पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका हुँदै पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको पोखरिया सबस्टेसनसम्म लाइन निर्माण हुनेछ ।
प्राधिकरणले लाइन निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले पनि प्राधिकरणको नाममा अनुमति जारी गर्ने अन्तिम चरणको काम गरिरहेको छ ।
यो लाइन पूरा भएपछि २ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ । लाइन करिब ६४ किलोमिटर लामो निर्माण हुनेछ । जसमा १८५ वटा टावरहरू निर्माण गरिनेछन् । टावरको अधिकतम उचाई ५९.४३ मिटरसम्मको रहनेछ ।
लाइन निर्माणको काम ४ वर्षभित्र पूरा गर्ने प्राधिकरणको लक्ष्य छ ।