काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (International Renewable Energy Certificate I–REC) पाउन सफल भएको छ । हाइड्रो पावर कम्पनी कार्बन व्यापारमा सूचिकृत भएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले कम्पनीलाई प्रशंसापत्र प्रदान गरी हाइड्रो पावर कम्पनीलाई सम्मान गरेको छ । मंगलबार इप्पानको सम्पन्न २३औं वार्षिक साधारणसभाको अवसरमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले टक्सार पिखुवालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कम्पनीले अब, छिट्टै कार्बन व्यापार वापतकाे रकम पनि पाउनेछ । कम्पनीले भोजपुरमा ८.५ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाले २०७७ चैतदेखि नियमीत विद्युत् उत्पादन गरिरहेको छ ।
कार्बन व्यापारमा सहभागी हुने नेपालकै पहिलो जलविद्युत् आयोजना टक्सार पिखुवा खोला बन्न सफल भएको छ । टक्सार पिखुवा खोला स्वच्छ ऊर्जा, दिगो विकास र राष्ट्र निर्माणमा अग्रणी भुमिका निभाउने दृढ संकल्पका साथ अघि बढिरहेको छ ।








