काठमाडाैँ । नेपालमा हरित हाइड्रोजनको उत्पादन, औद्योगिक प्रयोग तथा यसमार्फत कार्बन उत्सर्जन न्यूनीकरण र ऊर्जा रूपान्तरणको सम्भावनाबारे अनुसन्धानमा आधारित पुस्तक “Green Hydrogen in Nepal: Strategic Pathways for Deep Decarbonization and Industrial Transformation” सार्वजनिक गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयमा गरिएको अनुसन्धान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय सहकार्यका आधारमा तयार गरिएको पुस्तकको विमोचन त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. भोला थापा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. बिवेक बराल तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक प्रा. भूपेन्द्र बिमल क्षेत्रीले संयुक्त रूपमा गरे ।
पुस्तकका लेखक डा. बिराज सिंह थापा काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका सहप्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख हुन् । थापा विगत दुई दशकदेखि नवीकरणीय ऊर्जा, जलविद्युत्, हरित हाइड्रोजन तथा औद्योगिक डिकार्बोनाइजेसनका क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र नीतिगत अध्ययनमा सक्रिय रहँदै आएका छन् ।

पुस्तकमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण, ढुवानी तथा औद्योगिक प्रयोगका सम्भावनाका साथै जलविद्युत् स्रोतको उपयोगमार्फत ऊर्जा सुरक्षा सुदृढ गर्ने, आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने र हरित औद्योगिकीकरणलाई गति दिने रणनीतिबारे चर्चा गरिएको छ ।
नेपाल सरकारले हरित हाइड्रोजनको विकासका लागि नीतिगत पहल अघि बढाइरहेको सन्दर्भमा पुस्तकले नेपालको ऊर्जा रूपान्तरण र दिगो औद्योगिक विकासका लागि हरित हाइड्रोजनको सम्भावित भूमिकाबारे अनुसन्धानमा आधारित मार्गचित्र प्रस्तुत गरेको छ ।
नेपालमा हरित हाइड्रोजन नीतिको तयारी, करसम्बन्धी प्रोत्साहन तथा २.५ मेगावाट क्षमताको व्यावसायिक पाइलट परियोजनाको घोषणालगायतका पहलले यस क्षेत्रमा लगानी, अनुसन्धान तथा प्रविधि विकासका लागि नयाँ सम्भावना सिर्जना गरेको पुस्तकमा उल्लेख छ ।
काठमाडौँ विश्वविद्यालयले नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन तथा दिगो औद्योगिक विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनालाई निरन्तरता दिँदै यस क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
पुस्तकको निःशुल्क प्रति प्राप्त गर्न इच्छुक व्यक्तिले ghlab@ku.edu.np मा इमेल गर्नु पर्नेछ ।











