काठमाडौँ । नेपालको तीन जलविद्युत् आयोजना अन्तर्राष्ट्रिय अवार्डको लागि मनाेनित भएका छन् । माईबेनी जलविद्युत् आयोजना, चुवा खोला क्यासकेड र अप्पर चुवार लुरुप्या खोला जलविद्युत् आयोजना प्रतिष्ठित अन्तर्राष्ट्रिय जलविद्युत् संगठन (आईएचए) ब्लू प्लानेट पुरस्कार २०२५ का लागि योग्य भएका छन् ।
९.५१ मेगावाटको माईबेनी, ९८.१७ मेगावाटको चुवा खोला क्यासकेड र ११०.२० मेगावाटको अप्पर चुवार लुरुप्या खोला मनोनित भएका हुन् ।
माईबेनी गोल्ड प्रमाणीकरणका लागि मनाेनित भएको छ । जसले वातावरण व्यवस्थापन, समुदायिक संलग्नता र सञ्चालनमा उत्कृष्टतालाई दर्शाउँछ । यो आयोजना ऊर्जा डेभलपर्स अन्तर्गत सामलिङ पावर कम्पनी लिमिटेडले निर्माण गरेको हो ।
यस बाहेक सिल्भर प्रमाणीकरण प्राप्त गर्नेमा नेपालको उप्पर चुवार लुरुप्या खोला र चुवा खोला परियोजनाहरू प्रमाणित स्तरमा छन् ।
१ जुलाई २०२३ देखि १३ जुन २०२५ सम्मको अवधिमा जलविद्युत् दिगोपन मानकअन्तर्गत मूल्यांकन गरी आईएचए ब्लू प्लानेट पुरस्कारका लागि मनोनित गरिएको छ । यो पुरस्कारले विश्वव्यापी जलविद्युत् आयोजनालाई दिगोपन विकासमा उत्कृष्टता देखाउँछ ।
जलविद्युत् दिगोपन मापदण्ड (Hydropower Sustainability Standard) मा आधारित मूल्यांकनमा उत्कृष्ट प्रदर्शन गरेको र सबै विषयमा राम्रो अभ्यास (good practice) हासिल गरेको आधारमा आयोजना छनोट भएको हाे ।

यो पुरस्कार दिगो विकासमा उत्कृष्टता प्रदर्शन गर्ने जलविद्युत परियोजनाहरूलाई प्रदान गरिन्छ । यो पुरस्कार प्राप्त गर्न परियोजनाले पर्यावरणीय, सामाजिक, प्राविधिक र आर्थिक मापदण्डहरूमा उत्कृष्टता हासिल गर्नुपर्ने हुन्छ । साथै, परियोजनाले सार्वजनिक परामर्श (public consultation) प्रक्रिया पूरा गरेको हुनुपर्छ । पुरस्कार विजेताको घोषणा फ्रान्सको पेरिसमा ९–१० सेप्टेम्बर २०२५ मा हुने अन्तर्राष्ट्रिय पम्प स्टोरेज जलविद्युत् फोरममा गरिनेछ ।
आईएचएका प्रमुख कार्यकारी अधिकृत इड्डिया रिजले नेपालको जलविद्युत् परियोजनाले जलविद्युत् दिगोपन मानकलाई अपनाउँदै यति धेरै परियोजना यो पुरस्कारका लागि मनोनित भएकोमा खुशि व्यक्त गरे । ‘नेपाल जलस्रोतले धनी देश हो । प्राप्त स्रोत साधनलाई उपयोग गरी यसको लाभ लिनुपर्छ,’ उनले भने, ‘नेपाल पारिस्थितीक रूपमा कमजोर भएकोले दिगो परियोजना विकासमा जोड दिनुपर्छ, अहिले ब्लू प्लानेट पुरस्कारका लागि योग्य जलविद्युत् परियोजनाले नेपालले विकासको केन्द्रमा दिगोपनालाई राखेको प्रष्ट देखिन्छ ।’
यसैगरी, एचएसएका उपकार्यकारी निर्देशक एलाईन किलाजियानले नेपालमा जलविद्युत् क्षेत्रमा भइरहेको प्रगतिको दृश्य प्रेरणादायी रहेको बताए । उनले नेपालसँग जलविद्युत्का लागि प्रशस्त संभावना भएपनि इएसजी जोखिमहरू रहेकोले यस क्षेत्रमा संलग्न निकाय, व्यक्तिहरू सबै सँगै मिलेर काम गर्दा अझ राम्रो प्रतिफल प्राप्त हुने बताए ।
ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले माईबनी ब्लू प्लानेट पुरस्कारका लागि मनोनित भएकोमा खुशि व्यक्त गर्दै नेपालको ऊर्जा क्षेत्रमा दिगोपन मानकलाई प्राथमिकता दिँदै सबै सरोकारवालाहरूका लागि दिर्घकालीन मूल्य सिर्जना गर्न प्रतिवद्ध रहेको बताए ।
आईएचएका उपाध्यक्ष शुशिल पोखरेलले नेपालको जलविद्युत् परियोजनाहरू यसरी मनोनित हुनुले ऊर्जा क्षेत्रको विकासप्रति उत्कृष्टता, जवाफदेहिता र दिगापनालाई प्रतिबिम्बित गर्ने बताए ।








