काठमाडाैँ । तनहुँ जिल्लाको दमौली नजिक निर्माणाधीन १४० मेगावाट क्षमताको जलासययुक्त तनहुँ जलविद्युतमा बाढी पूर्वसूचना प्रणाली जडान भइसकेकाे छ । आयोजनाले मनसुन सुरु हुनुअघि नै बाढी पूर्वसूचना प्रणाली जडान गरिसकेको छ।
तनहुँ हाइड्रो पावर लिमिटेडका अनुसार अस्थायी बाँधको माथिल्लो क्षेत्रमा बाढी नाप्ने उपकरण जडान गरिएको छ, जसबाट प्राप्त डेटा करिब ४ किलोमिटर तल रहेको साइट अफिसमा वास्तविक समयमा हेर्न सकिने व्यवस्था गरिएको छ ।
यस स्वचालित प्रविधिबाट प्रत्येक सेकेन्डको बाढीको अवस्था थाहा पाउन सकिन्छ । नेपालमा यस्तो प्रविधिको सफल प्रयोग पहिलोपटक भएको हो । बाढीको सम्भावित जोखिमबारे समयमै जानकारी पाइने भएकाले यसबाट निर्माणाधीन साइटमा हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सकिनेछ ।
आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार अस्थायी बाँध रहेको क्षेत्र भौगोलिक रूपमा कठिन भूभागमा पर्छ, विशेषत: रातिको समयमा त्यहाँ पुगेर बाढीको जानकारी लिन असम्भवजस्तै हुन्छ । यस्तो अवस्थामा साइट अफिसमै बसेर जुनसुकै समयमा बाढीको अवस्था बुझ्न सकिनु जोखिम न्यूनीकरणको प्रभावकारी उपाय भएको उनले बताए ।
भारी वर्षा र प्रतिकूल मौसममा मोबाइल सञ्जाल भरपर्दो नहुने भएकाले वायरलेस प्रविधि प्रयोग गरिएको छ । यस प्रविधिको डिजाइन तथा कार्यान्वयन इनोभेटिभ इन्जिनियरिङ्ग सर्भिसेज प्रा.लि.ले गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक तथा प्राविधिक प्रमुख अनुप खनालका अनुसार प्रणालीले वास्तविक बाढीको अवस्था जानकारी गराउने अलावा, जलस्तरको निश्चित सीमा पार गरेपछि स्वचालित रूपमा साइरन बजाउने र सरोकारवालालाई एसएमएस पठाएर अलर्ट बनाउने काम गर्दछ ।
खनालका अनुसार यस्तो स्वचालित प्रविधि निर्माणाधीन र सञ्चालनमा रहेका अन्य जलविद्युत् आयोजनाका लागि समेत अत्यन्त उपयोगी बन्न सक्छ । साथै यसको सफल प्रयोगले नेपालमा भइरहेको विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास छ।








