चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । काँकडभिट्टाबाट साे पेट्रोलियम पदार्थ आयात भएकाे हाे ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात ३.६ प्रतिशतले बढेको छ । आयातसँगै राजस्व संकलन पनि ११.८ प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजारले वृद्धि भई कुल ७४ करोड ८३ लाख ३२ हजार पुगेको छ ।
उक्त अवधिमा ८ हजार ९०४ किलोलिटर पेट्रोल ७७ करोड ३ लाख रुपैयाँ मूल्य बराबरमा आयात भएको छ भने ४ हजार ६७६ किलोलिटर डिजेल ४४ करोड ११ लाख रुपैयाँमा आयात गरिएको छ । त्यस्तै, १ हजार ९३३ मेट्रिक टन एलपी ग्यास २० करोड ३ लाख, ७९२ किलोलिटर एटीएफ ७ करोड ३ लाख र १२८ किलोलिटर मट्टितेल १ करोड १३ लाख रुपैयाँमा आयात भएको कार्यालयले जनाएको छ ।








