”भूगोलले नै नेपालको भाग्य कोरेको छ” भन्ने भनाइ यहाँका हिमाल, पहाड र नदीलाई नियाल्दा अझै स्पष्ट हुन्छ । ती छहरामा बहने नदीनाला, पहाडभित्र लुकेर बसेका खनिज–स्रोत, र पहाडको काखमा बाँचिरहेका मान्छे- सबैको जीवनलाई सुरक्षित, उपयोगी र समृद्ध बनाउने एउटा पेशा छ, जुन प्रायः पर्दा पछाडि मात्र देखिन्छ । त्यो हो भूगर्भविद् (Geologist) को पेशा । नेपालको पहाड र नदीको दृश्य मात्र सौन्दर्य होइनन्, तीभित्र लुकेका स्रोत र सम्भावना नै हाम्रो विकासको मेरुदण्ड हुन् । तर यी सम्भावनालाई उजागर गर्न पर्दा पछाडिबाट काम गर्ने, नदेखिने तर अत्यावश्यक पेशा हो-भूविज्ञान ।

जलविद्युत्: जहाँ चट्टानले उर्जा बोल्छ
भूगर्भविद्को नाताले मैले प्रायः नदीको स्वर सुन्ने, चट्टानको नम्रता, कठोरता महशुस गर्ने अवसर पाएको छु । जलविद्युत् आयोजना सुरु गर्नुअघि, नदीको किनारा, काख ,उपत्यका र भूगर्भीय संरचनाको अध्ययन गर्नु मेरो पहिलो जिम्मेवारी हुन्छ । सुरुङ बनाउन सकिने ठाउँ, बाँध टिक्ने जमिन, वा भूकम्पले सजिलै असर पुर्याउन सक्ने कमजोर क्षेत्र पहिचान गर्नु अनिवार्य हुन्छ । हरेक आयोजनाको नक्साभित्र भूगर्भविद्को मौन हस्ताक्षर लुकेको हुन्छ ।
खानी: पृथ्वीभित्र लुकेको सुनौलो खजाना
पहाडभित्र सुन, तामा वा फलाम जस्ता खनिजहरू लुकेर बसेका हुन्छन् । ती सम्पदालाई निकाल्दा पृथ्वीलाई चोट नपार्ने तरिकाले प्रयोग गर्नुपर्ने हुन्छ । पृथ्वीको पेटभित्र खनिजहरूको संसार छ, तर त्यसलाई निकाल्ने तरिका नै भविष्य तय गर्ने कारक हो । नमूना संकलन, भू–नक्साङ्कन र भौगोलिक परीक्षणमार्फत खनिज कहाँ छ, कस्तो गुणस्तरको छ भन्ने कथा उजागर गर्छु । त्यसपछि मात्र सुरक्षित उत्खनन विधि र पर्यावरणमैत्री योजना तय हुन्छ । खानी उत्खनन केवल धातु निकाल्ने कुरा होइन, प्रकृति र विकासबीचको सन्तुलन खोज्ने प्रक्रिया हो ।

भूमिगत संरचना : अन्धकारभित्रको उज्यालो
आज नेपालमा सुरुङमार्ग, भूमिगत जलाशय, मेट्रो वा सञ्चार प्रणालीको आवश्यकता बढ्दै गएको छ । यी सबै संरचनाको आधारभूत प्रश्न एउटै हुन्छ-“भुइँमुनि के छ?” भूगर्भविद्ले चट्टानको गुणस्तर, भूकम्पीय दबाब र भूमिगत जलस्तरको अध्ययन गरेर सुरुङमार्गलाई सुरक्षित मार्गमा बदल्छन् । भूमिगत संरचनालाई दशकौंसम्म टिकाउन सक्ने दीर्घकालीन सुरक्षा योजना पनि भूगर्भविद्हरूले नै दिन्छन् ।

निष्कर्ष : पर्दा पछाडिका नायकहरू
भूगर्भविद्को नाम धेरैजसो शीर्षकमा पर्दैन, तर बाँधको मजबुती, खानीको सुरक्षा वा सुरुङको स्थायित्व-सबैतिर हाम्रो मौन योगदान छ । एक भूविज्ञानीको दृष्टिमा, नेपालले आफ्नो स्रोतसाधनलाई विवेकपूर्ण र वैज्ञानिक ढङ्गले उपयोग गर्न सकेमा नदीले उज्यालो दिनेछ, पहाडले धातु उपलब्ध गराउनेछ, भूमिगत मार्गहरूले आधुनिकताको ढोका खोल्नेछ । र यो यात्रामा भूविज्ञानीहरू सधैं पर्दा पछाडिको तर सबभन्दा निर्णायक भूमिका खेलिरहेका हुन्छन् ।
देशको विकास उन्मुख यात्रामा, हामी भूगर्भविद्हरू अदृश्य तर अपरिहार्य अभियन्ता भएर सदैव साथ दिनेछौँ ।
लेखक देवराज दाहाल भूगर्भविद् हुन् ।








