नेपालको ऊर्जा सुरक्षा र राष्ट्रिय गौरवको मेरुदण्ड मानिएको हेटौंडा–ढल्केवर-दुहवी ४०० केभी प्रसारण लाइन निर्माणकार्यले अहिले नयाँ गति लिएको छ।
कुल २८८ किलोमिटर लामो यस आयोजना अन्तर्गत ढल्केवर-इनरुवा खण्डको १५४ किलोमिटर निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको भएतापनि हेटौंडा–ढल्केवर खण्डमा लामो समयदेखि विवाद र अवरोध कायम थियो। तर, पछिल्लो समय नेपाल विद्युत प्राधिकरणको विशेष सक्रियता र स्थानीय सरोकारवालासँगको समन्वयपछि, रोकिएको काम पुनः सुचारु भएको छ।
विशेषगरी हेटौंडा क्षेत्रमा रहेका १४ वटा टावरमध्ये वडा नं. १५ मा जग हाल्ने कार्य सम्पन्न भइसकेको छ । त्यस्तै वडा नं. १६ मा पनि युद्धस्तरमा काम अगाडि बढेकाे प्राधिकरणले जनाएकाे छ। आयोजनालाई समयभित्रै पूर्णता दिन प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य लागिपरेका देखिन्छन्।
विगत ६ वर्षदेखि समाधान हुन नसकेको मुआब्जा र जग्गा विवादको गाँठो फुकाउन शाक्यकाे नेतृत्वले विशेष तदारुकता देखाएको बुझिन्छ, जसमा वर्षौँदेखि अलपत्र परेको काम अहिले १० दिनमै तिब्र गतिमा अघि बढ्नुले राम्राे संकेत गर्छ ।
शाक्यले प्रभावित बासिन्दाहरूलाई उचित मुआब्जा, क्षतिपूर्तिको सुनिश्चितता गर्दै विकास निर्माणमा सहयोग गर्न अपिल गरे । यो आयोजना समयमै सम्पन्न हुनु समग्र राष्ट्र र उर्जा क्षेत्रका लागि महत्वपूर्ण सफलता भएकाे बताउँदै उनले वन विभागबाट रुख कटानको अन्तिम स्वीकृति प्राप्त हुनासाथ बाँकी रहेका टावरहरूको निर्माण पनि छिट्टै सम्पन्न गर्ने लक्ष्य लिएको बताए।
यदि चालु आर्थिक वर्षभित्र यो प्रसारण लाइन सञ्चालनमा नआएकाे खण्डमा वर्षायाममा उत्पादित झण्डै ८०० मेगावाट विद्युत खेर जाने निश्चित छ, जसले मुलुकलाई अर्बौ आर्थिक क्षति पुग्ने देखिन्छ। समयावधि भित्रै काम सम्पन्न भएमा आन्तरिक विद्युत आपूर्तिलाई सुदृढ बनाउनुका साथै छिमेकी मुलुकसँगको विद्युत व्यापारमा समेत नयाँ आयाम थप्ने अपेक्षा गर्न सकिन्छ।








