Sunday, January 18, 2026
spot_img

बाढीले क्षतिग्रस्त सडक मर्मत नहुँदा जलविद्युत् आयोजनाहरूको काम प्रभावित

spot_img

Share

spot_img

स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्गमा मालवाहक सवारीसाधन गुड्ने अवस्था नहुँदा जिल्लास्थित निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम प्रभावित भएको छ । गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा क्षति पुर्‍याएपछि मर्मत एवम् पुनर्निर्माणका लागि अत्यावश्यक उपकरण तथा सामग्री ढुवानी हुन नसक्दा काम प्रभावित भएको हो ।

सुरुङ र जलविद्युत्‌गृह सुरक्षित रहे पनि मुहानको बाँध पूरै क्षति भएपछि मर्मत गर्न आवश्यक रड तथा सिमेन्टसहितका उपकरण ढुवानी तथा व्यवस्थापन गर्न समस्या देखिएको रसुवागढी जलविद्युत् कम्पनीले जनाएको छ ।

बाढीका कारण क्षतिग्रस्त सडकमा ‘ट्रयाक’ खोलेसँगै हल्का सवारी साधनमात्र आवतजावत गर्न सक्ने भएको तर ठूला मालवाहक गाडी चल्ने अवस्था नभएकाले सामान ढुवानी गरी जलविद्युत् आयोजनको बिग्रिएका संरचनाको मर्मतसम्भारसहितका अन्य काम हुन नसकेको सो कम्पनीका प्रबन्ध निर्देशक सत्यराम ज्याख्वाले बताए । कम्पनीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रको संरचनामा क्षति भई उत्पादन बन्द हुँदा दैनिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी नोक्सान भइरहेको छ ।

दैनिक २६ लाख ६४ हजार युनिट विद्युत् उत्पादन हुने रसुवागढीको संरचना बिग्रिएसँगै कम्पनीले ७२ करोड ८८ लाख ७० हजार रुपैयाँ घाटा व्यहोर्नु परेको प्रबन्ध निर्देशक ज्याख्वाले जानकारी दिए । बाढीले आयोजनाको मुहानको बाँधलगायतका बाहिरी संरचना क्षति हुँदा करिब तीन अर्ब ५० करोड रुपैयाँ नोक्सान भएको रसुवागढी जल विद्युत् कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादनबाट हुने आम्दानीबाट आयोजना निर्माणमा लागेको ऋण चुक्ता गर्ने आठ वर्ष निर्धारण गरिएकामा यसरी विद्युत् उत्पादन हुन नसकेपछि ऋण चुक्ता गर्ने समयावधि बढाउनुपर्नेमा जोड दिँदै प्रबन्ध निर्देशकले भुक्तानी दिनुपर्ने साँवा र ब्याजको भार समेत बढ्ने भएकाले अवरुद्ध सडकखण्ड यथासक्य छिटो सञ्चालन गर्ने वातावरण तयार गरिदिन सरकारसँग अनुरोध गरे ।

मुहानको बाँधमा बाढीले ठूल्ठूला ढुंगाहरू ल्याएको र बाँधको भुइँको सतहस्थित सिमेन्टका संरचना विगारेकाले निर्माण सामग्रीसहित बाढीले ल्याएका ढुंगा फोर्ने उपकरण ल्याउन सडकमा ठूला सवारीसाधन गुडाउने वातावरण तयार नहुँदा मर्मतकार्य अगाडि बढाउन नसकेको आयोजनाले स्पष्ट परेको छ ।

उता गल्छी, मैलुङ सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार चार/पाँच दिनसम्ममा रसुवागढीसम्मको ट्रयाक खोलिसक्ने र चीन सरकारले ल्हेन्दे खोलामा मितेरी पुल निर्माण सम्पन्न गरिसक्दा मालवाहक सवारीसाधन गुड्ने वातावरण मिलाउने लक्ष राखिएको छ । यसरी सीमानाकालाई लक्षित गरी काम गर्दा राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाहरूको काम अलपत्र अवस्थामा पर्न लागेको जलविद्युत् केन्द्रले गुनासो गरेको छ ।

रसुवालीलगायत नेपाली नागरिकको सेयरसमेत रहेको सो रसुवागढी जलविद्युत् आयोजनाको मुहान मर्मतका लागि ल्याइने मालसामग्री ढुवानी गराउन दुई लेनको सडक चाँडै निर्माण गर्न नागरिक समाज, रसुवाले माग गरेको छ ।

सडक पूर्णरूपमा अवरुद्ध भएसँगै आयत–निर्यात ठप्प भई रसुवा भन्सारको राजस्व संकलनसमेत शून्यमा झरेको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सडक बन्द हुँदा वर्षिक ४० अर्ब १६ करोड रुपैयाँ तथा साउन–भदौमा सात अर्ब रुपैयाँ उठाउने लक्ष्य कुनै पनि हालतमा पूरा नहुने बताए । रासस

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img