काठमाडौँ । पाँच खपन जलविद्युत् प्रालिले प्रवर्द्धन गरिरहेको ६.८४८ मेगावाट क्षमताको तल्लाे हेवा खोला जलविद्युत आयोजनाको इलेक्ट्रो–मेकानिकल निर्माण कार्य अष्ट्रियाको गेपर्ट ग्रुपसँगको सहकार्यमा अघि बढाइएको छ ।
गेपर्ट ग्रुपले यसअघि अपर हेवा खोला (८.५ मेगावाट) र सुपर हेवा खोला (६ मेगावाट) जलविद्युत आयोजनामा गुणस्तरीय काम सम्पन्न गरेको अनुभवका आधारमा यो आयोजना पनि सोही कम्पनीले पाएको हो । प्रवर्द्धक कम्पनीका अध्यक्ष बसन्त कुमार तामाङले भने, ‘गेपर्टको कामप्रतिको अनुशासन र गुणस्तरका कारण यो आयोजनामा पनि उसैसँग सहकार्य गरिएको हो । हामीलाई विश्वास छ, कम्पनीले समयमै उत्कृष्ट काम पूरा गर्नेछ ।’
सम्झौताअनुसार गेपर्टले इलेक्ट्रो मेकानिकलको काम एकवर्षभित्र सम्पन्न गर्नुपर्ने छ । गेपर्ट ग्रुपका नेपाल निर्देशक राजकिशोर यादवका अनुसार, कम्पनीले हालसम्म नेपालका १९ वटा जलविद्युत् आयोजनामा काम गरिसकेको छ, जसमा ९ वटा आयोजना सञ्चालनमा आइसकेका छन् । भारतमा पनि कम्पनीले ५ वटा आयोजनाको ठेक्का पाएको छ, जसमा २ सञ्चालनमा र ३ निर्माणाधीन छन् ।
आयोजनाका प्रवर्द्धक कम्पनीका निर्देशक उदय कान्त झाका अनुसार, १२८ वर्षभन्दा बढीको अनुभव बोकेको गेपर्ट ग्रुपले यो आयोजनामा पनि गुणस्तरीय काम गर्ने विश्वास गरिएको छ । आयोजनाको कुल हेड १८१.९२ मिटर रहेको छ र यसले वार्षिक ४०.८२ गिगावाट आवर विद्युत् उत्पादन गर्नेछ । उत्पादन भएको विद्युत् ३३ केभीको प्रसारण लाइन (३.८ किलोमिटर) मार्फत बनेश्वर सबस्टेसनमा जोडिनेछ ।
यस आयोजनामा दुई बैंकबाट ९८.१७ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सह–लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता भएको हो । सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८.१७ करोड रुपैयाँ ऋण उपलब्ध गराउने छन् । दुई बैंकले मिलेर आयोजनाको कुल लागत १४०.२५ करोड रुपैयाँमध्ये ७० प्रतिशत ऋणस्वरूप लगानी गर्नेछन् भने बाँकी ३० प्रतिशत रकम प्रवर्द्धक कम्पनीले जुटाउनेछ ।
हाल आयोजनाको निर्माण कार्य सुरु भइसकेको छ र निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।








