काठमाडाैँ । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा चिनियाँ ब्राण्डको प्रभाव थप बलियो देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा आयात भएका कुल ३ हजार ६९५ युनिट विद्युतीय कारमध्ये आधाभन्दा बढी हिस्सा दुई चिनियाँ ब्राण्ड बीवाइडी र डोङफेङले ओगटेका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार असोजमा २२ वटा ब्राण्डका विद्युतीय कार नेपाल भित्रिएका छन् । तीमध्ये बीवाइडी र डोङफेङका मात्रै २ हजार १९ युनिट आयात भएका छन् । यो कुल आयातको ५४.६४ प्रतिशत हो । बाँकी ४५.३६ प्रतिशत हिस्सा अन्य २० ब्राण्डका कारले ओगटेका छन् ।
असोज महिनाको आयातमा बीवाइडी पहिलो स्थानमा रहेको छ । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एक महिनामा १ हजार १७८ युनिट बीवाइडी कार आयात गरेको छ । कम्पनीले एटो १, एटो २ र एटो ३ मोडल नेपाल भित्र्याएको हो । जसमध्ये एटो २ का ६३८, एटो १ का ३५० र एटो ३ का १५० युनिट आयात भएका छन् ।
दोस्रो स्थानमा रहेको डोङफेङका ८८१ युनिट विद्युतीय कार नेपाल आएका छन् । एमएडब्लू वृद्धि अटोकर्पले आयात गरेका यी कारमध्ये नामी भिगोका ८२९ र नामी बक्सका ५२ युनिट रहेका छन् ।
भारतीय ब्राण्ड टाटा ५३४ युनिट आयातसहित तेस्रो स्थानमा छ । सिप्रदी ट्रेडिङले आयात गरेका टाटाका कारमध्ये पन्च ईभी ३३३, टियागो ईभी ९९, नेक्सन ईभी ७४ र एक्सप्रेस टी २८ युनिट रहेका छन् । एक्सप्रेस टी विद्युतीय ट्याक्सीका रूपमा प्रयोग हुँदै आएको छ ।
त्यस्तै, चौथो स्थानमा रहेको चेरी समूहका २७६ युनिट विद्युतीय कार नेपाल भित्रिएका छन् । एसपीजी अटोमोबाइल्सले आयात गरेका यी कारमा आइकार भी २३ एसयूभी १२५, जेको जे सिक्स ५१ तथा जेको जे फाइभ र चेरी क्यूका समान ५०/५० युनिट रहेका छन् ।
मलेसियन ब्राण्ड प्रोटोन १३७ युनिट आयातसहित पाँचौं स्थानमा छ । जगदम्बा मोटर्सले इमास ५ र इमास ७ एसयूभी नेपाल भित्र्याएको हो ।
छैटौं स्थानमा रहेको लिपमोटरका १२२ युनिट आयात भएका छन् । सांग्रिला मोटर्सले बी०३ एक्स, बी १० र सी १० मोडल आयात गरेको छ । त्यस्तै, चीनमा उत्पादित एमजीका ११५ युनिट कार पारामाउन्ट मोटर्सले भित्र्याएको छ । यससँगै एमजी सातौं स्थानमा रहेको छ ।
आठौं स्थानमा केई ब्राण्ड रहेको छ । लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रूपमा ८० युनिट केई ईभी आयात गरेका छन् । भारतमा उत्पादित एमजीका ६० युनिट कारसहित जीओ अटोमोबाइल्स नवौं स्थानमा रहेको छ । कम्पनीले विण्डसर ईभी, कोमेट ईभी र हेक्टर टोमहक ईभी आयात गरेको हो ।
अन्य ब्राण्डको आयातमा जेएमईभीका ५५, ग्रेटवाल मोटरका ५४, दीपलका ४५, हुन्डाईका ४०, आर्कफक्सका ३९, महिन्द्राका ३५ र वुलिङका ३० युनिट रहेका छन् ।
त्यसैगरी, बीएडब्लूका २०, स्काइवेलका १७, सिट्रोनका १०, जिलीका ८, सुटलेजका २ र होङ्छीको एउटा युनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
असोज महिनाको आयात विवरणले नेपाली ईभी बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको देखाउँछ । विशेषगरी बीवाइडी र डोङफेङले संयुक्त रूपमा कुल बजार आयातको ५४ प्रतिशतभन्दा बढी हिस्सा ओगट्नुले यी दुई ब्राण्डको बलियो उपस्थिति पुष्टि गर्छ । यद्यपि, टाटा, चेरी, प्रोटोनलगायतका ब्राण्डले पनि उल्लेख्य संख्यामा सवारीसाधन भित्र्याएसँगै नेपाली बजारमा विद्युतीय कारका ब्राण्ड र मोडलबीचको प्रतिस्पर्धा थप फराकिलो बन्दै गएको छ ।











