Wednesday, November 25, 2026
spot_img

पाल्पामा ५० मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण हुने

spot_img

Share

spot_img

काठमाडाैँ । लुम्बिनी प्रदेशको पाल्पामा ५० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण हुने भएको छ । गोग्रीन इनर्जी लिमिटेडले माथागढी गाउँपालिका–६ मा उक्त आयोजना निर्माण गर्न लागेको हो ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक औसत ९५.२१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यसले नेपालको जलविद्युत् केन्द्रित ऊर्जा प्रणालीमा सौर्य ऊर्जाको योगदान बढाउने अपेक्षा गरिएको छ ।

आयोजना निर्माणका लागि कम्पनीले करिब ५४.६० हेक्टर अर्थात् ८२ बिघा जग्गा प्रस्ताव गरेको छ । उक्त क्षेत्रमा तीनवटा छुट्टाछुट्टै ब्लक निर्माण गरी सौर्य विद्युत् उत्पादन गर्ने योजना रहेको छ ।

आयोजनाअन्तर्गत ६५० वाट क्षमताका ९२ हजार ३०७ वटा सौर्य प्यानल जडान गरिने प्रस्ताव गरिएको छ । ती प्यानलबाट कुल ५९ हजार ९९९.५५ किलोवाट पिक विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत्लाई २८४ किलोवाट क्षमताका १७५ वटा स्ट्रिङ इन्भर्टरमार्फत रूपान्तरण गरी ५० मेगावाट क्षमताको प्रणालीमा पठाइनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ३३/१३२ केभी क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिनेछ । तीमध्ये एउटा ३२ एमभीए र अर्को २७ एमभीए क्षमताको हुनेछ । साथै, आयोजना स्थलदेखि नेपाल विद्युत् प्राधिकरणको सुनवल सबस्टेसनसम्म करिब १२ किलोमिटर लामो १३२ केभी क्षमताको एकल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ ।

यसैबीच, विद्युत् विकास विभागले आयोजनासम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन सार्वजनिक गरेको छ । विद्युत् ऐन, २०४९ र विद्युत् नियमावली, २०५० अनुसार आयोजना अनुमति प्रक्रियाअन्तर्गत प्रतिवेदन सार्वजनिक गरिएको विभागले जनाएको छ ।

आयोजना निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, वायु प्रदूषणलगायतका वातावरणीय असर न्यूनीकरण गर्ने प्रस्ताव गरिएको छ । विभागले आयोजनाबाट स्थानीय क्षेत्रमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित राय तथा प्रतिक्रिया पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

५० मेगावाट क्षमताको यो आयोजना निर्माण भएमा लुम्बिनी प्रदेशको नवीकरणीय ऊर्जा उत्पादनमा थप योगदान पुग्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img