Friday, May 15, 2026
spot_img

भूमिगत विद्युत् संरचना निर्माण तीव्र, मुख्य सहरी क्षेत्र पोल रहित हुँदै

spot_img

Share

spot_img

काठमाडाैँ । गण्डकी प्रदेशको राजधानी पोखरा पोल–मुक्त सहरी स्वरूपतर्फ अघि बढिरहेको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत शहरका मुख्य सडक र व्यस्त क्षेत्रहरूमा भूमिगत विद्युत् लाइन बिछ्याउने काम ६० प्रतिशत पूरा भएको छ। चैतभित्र सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको छ ।

सुरुमा इञ्जिनियरिङ डिजाइन, उपकरण खरिद र ठेक्का कम्पनीको ढिलासुस्तीका कारण परियोजना सुस्त देखिए पनि पछिल्लो समय तीव्र गतिमा काम भइरहेको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिए । विसं २०७८ मा दुई वर्षे ठेक्का सम्झौतापछि २०८० वैशाखदेखि मात्र निर्माण सुरु भएको थियो। भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा भूमिगत तार बिछ्याउन २ अर्ब ५० करोड रुपैयाँमा ठेक्का पाएको हो ।

मुख्य सहरी क्षेत्र क्रमशः भूमिगत संरचनामा रूपान्तरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म विद्युत् लाइन भूमिगत भइसकेको छ। सिर्जनाचोक–सभागृह–जिरो किमीदेखि लेकसाइडको जरेबर क्षेत्रमा अहिले तार बिछ्याउने काम जारी छ । लेकसाइडका गल्ली नं. १५, १६, १७ मा काम पूरा भइसकेको छ भने न्यूरोड र चिप्लेढुङ्गामा चाँडै सुरु हुने तयारी छ ।

मुख्य राजमार्ग, सहायक सडक, बजार क्षेत्र, बैंक–चोक, बस पार्क परिसर, एयरपोर्ट–कनेक्टिभिटी सहितका क्षेत्रमा विद्युत्, टेलिफोन, केबल, इन्टरनेटका तार एकीकृत रूपमा भूमिगत गरिनेछ। यसका लागि अप्टिकल फाइबर लाइन समेत बिछ्याइँदै छ ।

सहरी सौन्दर्य र सुरक्षा प्राथमिकतामा

अव्यवस्थित पोल र झुण्डिएका तारले पोखराको सहरी सौन्दर्यमा परेको असर हटाउने, पर्यटकमैत्री वातावरण बनाउने र विद्युत् आपूर्ति विश्वसनीय बनाउने उद्देश्यले भूमिगत प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

‘होरिजेन्टल डाइरेक्शनल ड्रिलिङ’ प्रविधि प्रयोग गरी सडकमा क्षति न्यून पार्दै लाइन बिछ्याइँदैछ । भूमिगत लाइन बढी क्षमतायुक्त हुने भएकाले भविष्यको लोड–चाप व्यवस्थापनमा पनि मद्दत पुग्ने बताइन्छ ।

चुनौती र आगामी योजना

आयोजनामा प्रारम्भिक ढिलाइ निर्माण कम्पनीको लापरवाही, उपकरण ढुवानी–क्लियरन्सका समस्या र सहरी क्षेत्रमा यातायात व्यवधानका कारण आएको प्राधिकरणको भनाइ छ । तर तिहारपछि काम केही तीव्र भएको र दैनिक प्रगति देखिन थालेको इञ्जिनियर सुवेदीले बताए ।

पोखरालाई ‘तार–मुक्त सहर’ घोषणा गर्ने दीर्घ योजना अन्तर्गत प्राधिकरणले चरणबद्ध रूपमा वितरण प्रणाली आधुनिक बनाइरहेको छ । काठमाडौँ र भरतपुरमा पनि यस्तै परियोजना समानान्तर रूपमा अघि बढाइएका छन् ।

यससँगै पोखराका प्रमुख सहरी क्षेत्र, बजार, पर्यटन–जोन र आवासीय क्षेत्रमा छिट्टै भूमिगत संरचना पूर्णरूपमा लागू हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img