काठमाडौँ । देशका ठूला–ठूला जलविद्युत् आयोजनामा महिलाको उपस्थिति अझै अत्यन्त न्यून देखिन्छ । कामको प्रकृति, कठिन भूगोल, लामो समयसम्म परिवारबाट टाढा बस्नुपर्ने वातावरण र प्राविधिक दक्षता आवश्यक हुने चुनौतीका कारण ऊर्जा क्षेत्रमा महिलाको सहभागिता न्यून देखिएको हो ।
आयोजनाहरूले विभिन्न रिक्त पदहरूका लागि कर्मचारी माग गर्दा पनि महिला आवेदन अत्यन्त न्यून आउने गरेको जलविद्युत् प्रवर्द्धकहरू बताउँछन् । ‘काम गर्न कठिनाइ छ, साइटमा सुरक्षाको व्यवस्था कमजोर हुन्छ भन्ने धारणा पनि छ, अर्को प्रमुख कारण भने लगानी गर्न नसक्ने अवस्थाले हो,’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) की सचिव कविता कँडेल बताउँछिन् ।
उनका अनुसार फण्ड र लगानी योजनामा महिलाको पहुँच बढाउने, कार्यस्थलमै सुरक्षित आवास, सेफ्टी मेकानिजम, महिला–मैत्री वातावरण र पहाडी÷दुर्गम क्षेत्रमा आवश्यक विशेष सुविधाहरू अनिवार्य गरिए मात्र सहभागिता बढ्न सक्छ । ‘महिला आफैं पनि घरपरिवारबाट प्रोत्साहन पाए पुग्छ, तर धेरैजसो अवस्थामा घरभित्रकै अवरोधले उनीहरूको निर्णय कमजोर बनाउँछ,’ उनी भन्छिन् ।
निजी क्षेत्रका ऊर्जा परियोजनामा महिलाले नेतृत्व सम्हाल्ने क्रम बढीरहेकाे पनि उनले बताइन । ‘निजी क्षेत्रमा केही सकारात्मक अभ्यास छन्, अब नीति निर्माणमै महिला सहभागिता सुनिश्चित गर्नुपर्छ,’ कँडेलले भनिन् ।
ऊर्जा क्षेत्र अत्यन्त संवेदनशील र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको भएकाले सरकारले यसको समग्र सुरक्षा र सञ्चालन प्रणालीलाई महिला–मैत्री बनाउनु अत्यावश्यक रहेको इप्पान अध्यक्ष गणेश कार्कीको भनाइ छ । उनका अनुसार निजी क्षेत्रका बोर्डहरूमा कम्तीमा एक महिला अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था भएपछि केही सुधार देखिए पनि वास्तविक परिवर्तन भने अझै आइसकेको छैन ।
‘क्षमता हुँदाहुँदै पनि लगानी अभावले धेरै महिला ऊर्जा क्षेत्रमा आउन सकेका छैनन् । जागिर मात्रै होइन, व्यवस्थापन र बोर्ड स्तरमै महिलाको उपस्थिति बढाउनुपर्ने बेला आएको छ,’ कार्कीले भने ।
उनी भन्छन्, ‘अहिले नेप्सेमा ९२ कम्पनी सेयर निष्कासन स्वीकृतिका लागि पर्खाइमा छन् । यी कम्पनीहरू सेयर बजारमा आएपछि महिला लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढ्नेछ ।’
प्राविधिक चुनौती, घरेलु जिम्मेवारी र अवसरको अभाव
इप्पानकी सचिव कँडेलका अनुसार ऊर्जा क्षेत्र प्राविधिक, जोखिमपूर्ण र निरन्तर फिल्ड–भिजिट आवश्यक पर्ने भएकाले महिलाको सहभागिता कम देखिन्छ । ‘महिला अझै पनि घरायसी जिम्मेवारीमा धेरै अल्झिनुपर्ने स्थिति छ । फिल्डमा बस्ने, रातभरि साइटमै रहने, पहाडी क्षेत्रमा हिँडडुल गर्ने काम चुनौतीपूर्ण छ । त्यसैले धेरै महिला यो क्षेत्रमा आएर पनि अगाडि बढ्न सकिरहेका छैनन्,’ कंडेलले भनिन् ।
उनले ऊर्जा क्षेत्रमा महिलाका लागि कर छुट, लगानी प्रोत्साहन, सहलगानी कोष (को–इनभेस्टमेन्ट फण्ड), र सीप अभिवृद्धिका कार्यक्रममा प्राथमिकता दिए महिलाको सहभागिता बढ्ने बताइन् ।
ऊर्जा क्षेत्र विकासको मेरुदण्ड हो, र यसमा महिला सहभागिताको वृद्धि केवल लिङ्ग समानताको मुद्दा मात्र नभइ दिगो, समावेशी र दीर्घकालीन विकासको पूर्वशर्त हो । महिला–मैत्री नीति, सुरक्षित साइट, आर्थिक पहुँच, प्राविधिक सीप र नेतृत्व–स्तरबाट निरन्तर प्रोत्साहन भयो भने नेपालका जलविद्युत् आयोजनामै महिलाको उपस्थिति नयाँ मोडमा जान सक्छ ।








