काठमाडाैँ । नेपालगञ्ज–नानपारा १३२ के.भी. अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाँके जिल्लामा जग्गा अधिग्रहण प्रक्रिया औपचारिक रूपमा थालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गर्दै जानकी गाउँपालिका–५मा निर्माणाधीन सबस्टेशनबाट खजुरा गाउँपालिका–३ र ४ हुँदै जानकी गाउँपालिकाका १ देखि ६ नम्बर वडासम्म लाइन विस्तार गर्न आवश्यक जग्गा स्थायी रूपमा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको हो ।
प्रशासन कार्यालयका अनुसार साविक साइगाउँ, बेलभार, इन्द्रपुर, खजुरा खुर्द, बेल्हरी, गनापुर तथा खजुरा गाउँपालिका–३ र ४ (साविक बागेश्वरी गाविस) क्षेत्रमा पर्ने टावर स्थापनाका क्रममा घर, टहरा, पर्खाल, बालीनाली, रुखबिरुवा तथा अन्य संरचनाको मूल्यांकन गरी क्षतिपूर्तिको प्रक्रिया सुरु गरिएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ का दफा ९, १० र ११ अनुसार मुआब्जा निर्धारण तथा हकदाबी दर्ता गरिने उल्लेख गर्दै प्रशासनले पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र प्रमाणसहित निवेदन दिन सरोकारवालालाई आग्रह गरेको छ । तोकिएको समयमा निवेदन नआएमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने स्पष्ट गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माणलाई तीव्र गतिमा अघि बढाइरहेको र स्थानिय सरोकारका विषयमा कानुनी प्रक्रिया अनुसार समन्वय जारी रहने जनाएको छ ।








