Saturday, September 21, 2024
spot_img

लक्ष्यअनुरुप विद्युत् उत्पादन हुँदै, २०८० मा मात्रै ५३२ मेगावाट थपियो

spot_img

Share

spot_img

काठमाडौँ । पछिल्लो दशकमा जलविद्युत् र सौर्य आयोजना निर्माण सम्पन्न भई उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने क्रम बढिरहेको छ । गत वर्ष अर्थात २०८० मा मात्रै करिब साढे ५ सय मेगावाटका आयोजनाको विद्युत् प्रणालीमा थपिएको छ ।

एक वर्षको सययावधि (बैशाखदेखि चैत)मा निजी ऊर्जा उत्पादकहरूले ५३२ मेगावाट बढी विद्युत् केन्द्रिय प्रणालीमा थप गरेका छन् । प्रवर्द्धकहरूले सौर्य र जलविद्युत् गरी २३ आयोजनाको विद्युत् प्रणालीमा थपेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा छ ।

अघिल्लो वर्ष अर्थात २०७९ को तुलनामा याे वर्ष उत्पादन क्षमतामा बढेको देखिएको छ । अघिल्लो वर्ष ४९६.७१९ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप भएको थियो ।

प्राधिकरणका अनुसार गत वर्ष ५००.१२ मेगावाटका १९ जलविद्युत् र ३२ मेगावाटका ४ सौर्य आयोजनाको बिजुली प्रणालीमा थपिएको छ । गत वर्ष सबैभन्दा बढी चैतमा मात्र २२७.५ मेगावाटका ४ आयोजना विद्युत् प्रणाली जोडिएको छ । चैतमा ७७ मेगावाटको लिखु–१, ७१ मेगावाटको निलगिरी–२ क्यासकेड, ७३ मेगावाटको मध्य तमोर र ६.५ मेगावाटको भुजुङ खोलाको विद्युत् प्रणालीमा थपिएको छ ।

सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ भित्र ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप्ने लक्ष्य राखेको छ । आवको साउनदेखि चैत्रसम्म ४३०.४५ मेगावाट विद्युत् प्रणालीमा थप भइसकेको छ । आवको अझै तीन महिना बाँकी भएकोले निर्धारण गरिएको लक्ष्यअनुरुप विद्युत् प्रणालीमा थपिने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।

यो आवभित्र १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन लगायतका आयोजनाको विद्युत् प्रणालीमा थपिनेछन् । रसुवागढी र मध्यभोटेकोसीको परीक्षण अन्तिम चरणमा पुगेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img