निरक थापा/ नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ६० लाखभन्दा बढी ग्राहक तथा घरधुरीमा विद्युत् सेवा पुगेको छ।
गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म प्राधिकरणमार्फत ६० लाख ३५ हजार ६९८ ग्राहक विद्युत् सेवामा आबद्ध भइसकेका थिए भने त्यसयता विद्युत् पहुँचमा पुग्ने ग्राहक संख्या थप बढ्दै गएको छ।
प्राधिकरणका अनुसार राष्ट्रिय ग्रीड तथा सामुदायिक र ग्रामीण विद्युतीकरण मार्फत हाल देशको करिब ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ। यसमध्ये ९५ प्रतिशत जनसंख्या राष्ट्रिय ग्रीडमार्फत र बाँकी ३ प्रतिशत सामुदायिक तथा ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवामा जोडिएका छन्। २०८२ असार मसान्तसम्म प्राधिकरणका विभिन्न विद्युत् वितरण केन्द्रमार्फत ५७ लाख ७ हजार ५२८ ग्राहक र सामुदायिक विद्युत् सहकारी संस्थामार्फत ३ लाख २८ हजार १७० ग्राहकमा बिजुली पुगेको छ।
आम उपभोक्तालाई स्तरीय र भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ प्राधिकरणले देशभर ७ वटा प्रादेशिक कार्यालय, २ वटा प्रदेश डिभिजन कार्यालय अन्तर्गत रहेका १२९ वटा विद्युत् वितरण केन्द्रमार्फत विद्युतीकरणको काम गरिरहेको छ।
साथै, २६ वटा विभिन्न आयोजनामार्फत वितरण लाइन र वितरण सबस्टेसनको विस्तार तथा स्तरोन्नति गर्ने काम पनि निरन्तर रूपमा भइरहेको छ।
राष्ट्रिय ग्रीड नपुगेका क्षेत्रहरूमा भने सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभागमार्फत विद्युत् सेवा विस्तार भइरहेको छ। समुदाय, सहकारी तथा निजी क्षेत्रबाट निर्माण भएका साना तथा मझौला जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रयोग गरी दुर्गम तथा ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिँदै आएको छ।
हाल पनि ग्रामीण विद्युतीकरणको काम तीव्र रूपमा अघि बढिरहेको प्राधिकरणले जनाएको छ। चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यअनुसार आगामी दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यद्यपि, कर्णाली र सुदूरपश्चिम प्रदेशका हुम्ला, डोल्पा, मुस्ताङ, मुगु, बाजुरा, रुकुम पूर्वलगायत दुर्गम तथा विकट ग्रामीण क्षेत्रमा अझै पनि विद्युत् सेवा पूर्ण रूपमा पुग्न सकेको छैन।
ती क्षेत्रहरूमा सामुदायिक तथा ग्रामीण विद्युतीकरणमार्फत विद्युत् सेवा विस्तार गरी दुई वर्षभित्र सतप्रतिशत नागरिकमा विद्युत् पहुँच पुर्याउने सरकारको योजना रहेको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हालसम्म ९८ प्रतिशत ग्राहकमा गुणस्तरीय विद्युत् सेवा पुगेको छ भने आगामी दुई वर्षभित्र सतप्रतिशत ग्राहकसम्म विद्युत् सेवा पुर्याउने गरी प्रसारण तथा वितरण लाइन निर्माण, विस्तार गर्ने काम तीव्र पारिएको छ।








