काठमाडाैँ । गण्डकी प्रदेश सरकारले खानेपानी आयोजनाहरू सञ्चालन गरिरहेका उपभोक्ता संस्थालाई लक्षित गर्दै विद्युत् महशुल अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोरखाले यससम्बन्धी सूचना प्रकाशित गर्दै इच्छुक उपभोक्ता संस्थालाई आवेदन दिन आह्वान गरेको हो ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार विद्युत् महशुलमा अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको हो । गण्डकी प्रदेश भित्र लिमिटेड प्रविधिबाट सञ्चालित खानेपानी आयोजनाका उपभोक्ता संस्थाहरूले विद्युत् महशुल अनुदानसम्बन्धी मापदण्ड २०८२ बमोजिम कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
सूचनाअनुसार आवश्यक कागजात संलग्न गरी २०८२ पौष ३० गतेभित्र कार्यालयमा लिखित निवेदन पेश गर्नुपर्नेछ । समयसीमाभित्र प्राप्त निवेदनहरूको मूल्याङ्कनपछि योग्य उपभोक्ता संस्थालाई विद्युत् महशुल अनुदान प्रदान गरिने डिभिजन कार्यालयले जनाएको छ ।
अनुदानका लागि पेश गर्नुपर्ने कागजातहरूमा उपभोक्ता संस्थाको नाम र ठेगाना खुल्ने नवीकरणसहितको दर्ता प्रमाणपत्र, लाभान्वित हुने घरधुरी संख्या तथा प्रतियुनिट विद्युत् महशुल विवरण, विद्युत् महशुल तिरेको बिल र सक्कल रसिद, संस्थाको नाममा रहेको बैंक खाता विवरण, मर्मत सम्भार कोष स्थापना भएको प्रमाण, संघ तथा स्थानीय सरकारबाट अनुदान नलिएको घोषणा, उपभोक्ता समितिको निर्णय तथा सम्बन्धित विद्युत् महशुल मागसम्बन्धी निवेदन समावेश छन् ।
प्रदेश सरकारले यो कार्यक्रममार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालनमा रहेका खानेपानी आयोजनाको आर्थिक भार घटाउने र सेवा प्रवाहलाई दिगो बनाउने लक्ष्य लिएको जनाएको छ ।









