काठमाडाैँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख कित्ता शेयर खरिद गर्ने भएको छ । कम्पनीले लगानीयोग्य मौज्दात रकममध्ये एक करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।
कम्पनीको पुस ११ गते बसेको संचालक समितिको बैठकले शेयर खरिद गर्ने निर्णय गरेको हो ।
लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेडले मनाङमा ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट २०८४ कार्तिक ५ गते विद्युत उत्पादनको लक्ष्य राखिएको छ। आयोजनाको निर्माण कार्य सन्तोषजनक रुपमा अगाडी बढेको र आयोजना बजेटको हिसाबले समेत तुलनात्मक रुपमा राम्रो रहेकोले लगानीको निर्णय गरिएको कम्पनीले जनाएको छ ।
आयोजनाको कुल लागत ९९६ करोड रुपैयाँ रहेको छ । जसमा बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी हुने छ भने बाँकि २४९ करोड रकम इक्विटी मार्फत जुटाइने छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणले खरिद गर्ने गरि विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ । प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने छ ।
यो आयोजना मनाङको नासो गाउँपालिकामा पर्छ । आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ ।








