Monday, March 9, 2026
spot_img

उज्यालो नेपाल पार्टीकाे प्रतिबद्धताः ९ वर्षमा २५ हजार मेगावाट उत्पादन

spot_img

Share

spot_img

काठमाडाैँ । उज्यालो नेपाल पार्टीले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि सार्दै जलविद्युत् उत्पादन र निर्यातलाई केन्द्रीय प्राथमिकतामा राख्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।

पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सन् २०३० सम्म १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत् उत्पादन पुर्‍याउने लक्ष्य लिइएको छ । उत्पादन बढेसँगै भारत, बंगलादेश र चीनतर्फ विद्युत् निर्यात विस्तार गरी वार्षिक अर्बौँ डलर आम्दानी गर्ने योजना प्रस्तुत गरिएको छ ।

ऊर्जा उत्पादनसँगै आन्तरिक खपत वृद्धि गर्दै पेट्रोलियम पदार्थको आयात घटाउने नीति पनि अघि सारिएको छ । ग्रामीण क्षेत्रमा विद्युतीकरण विस्तार, विद्युतीय सवारी साधन प्रोत्साहन र उद्योग क्षेत्रमा स्थिर तथा सस्तो विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

‘१ हजार कित्ता शेयर’ अभियान

ऊर्जा विकासमा सर्वसाधारणको सहभागिता सुनिश्चित गर्न ‘१ हजार कित्ता शेयर’ अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ । प्रत्येक परिवारलाई प्राथमिक मूल्यमा कम्तीमा एक हजार कित्ता जलविद्युत् शेयर उपलब्ध गराउने र विपन्न परिवारलाई सहुलियत ऋणमार्फत लगानीको अवसर दिने उल्लेख छ । निर्माण अवधिमा श्रमिकको पारिश्रमिकलाई समेत शेयरमा रूपान्तरण गर्न सकिने व्यवस्था गरिने जनाइएको छ ।

‘जनताको जलविद्युत् कोष’ स्थापना

३० वर्षपछि सरकारलाई हस्तान्तरण हुने जलविद्युत् आयोजनाबाट प्राप्त राजस्वको २० प्रतिशत रकम ‘जनताको जलविद्युत् कोष’मा राख्ने प्रस्ताव गरिएको छ । उक्त कोषबाट शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै, विद्युत् निर्यातबाट प्राप्त आम्दानीको १५ प्रतिशत ‘राष्ट्रिय समृद्धि कोष’मा जम्मा गरी ग्रामीण पूर्वाधार र गरिबी न्यूनीकरणमा खर्च गर्ने योजना अघि सारिएको छ ।

कार्बन न्यूट्रल नेपालतर्फ

ऊर्जा उत्पादन विस्तारलाई हरित अर्थतन्त्रसँग जोड्दै २०४५ सम्म ४० हजार मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्य राखिएको छ । जलविद्युत्, हरित प्रविधि र स्वच्छ ऊर्जाको प्रयोगमार्फत नेपाललाई ‘कार्बन न्यूट्रल’ मुलुकका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाइएको छ ।

ऊर्जा क्षेत्रलाई कृषि, उद्योग, सूचना प्रविधि र पर्यटनसँग जोड्दै समग्र अर्थतन्त्र चलायमान बनाउने रणनीति दस्तावेजमा समेटिएको छ । पार्टीका अनुसार “भाषण होइन परिणाम” भन्ने नारासहित ऊर्जा–आधारित समृद्धि अभियान अघि बढाइनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img