काठमाडाैँ । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि शेयर जारी गर्ने भएकाे छ । कम्पनी आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित शेयर जारी गर्न लागेकाे हाे ।
कम्पनीले १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियाे । यस योजनाअनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरिनेछ ।
प्रभावित क्षेत्रअन्तर्गत ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ लाई अति प्रभावित क्षेत्रका रूपमा वर्गीकृत गरी त्यहाँका बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ । त्यस्तै सिरिजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिकाका वडा नं. ५ र ६, पाथिभरा याङवरक गाउँपालिकाका वडा नं. ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–१ का बासिन्दाका लागि पनि समान ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको शेयरको १० प्रतिशत बराबर ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि उपलब्ध गराउने भएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा चैत २३ गते बन्द हुनेछ र आवश्यक माग नपुगेमा ढिलोमा २०८३ वैशाख ८ गतेसम्म खुला रहनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।








