काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चार वटा प्रसारण लाइन परियोजना निर्माणका लागि इच्छुक कम्पनीहरूबाट एक्सप्रेशन अफ इन्टरेस्ट (EOI) माग गरेको छ । प्राधिकरणको ट्रान्समिसन निर्देशनालय, दरबारमार्गले सूचना प्रकाशित गर्दै स्वदेशी तथा विदेशी कम्पनी वा कन्सोर्टियमलाई आवेदन दिन आह्वान गरेको हो ।
यी परियोजनाहरू बुट (निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण) मोडेलमा तथा ‘ट्यारिफ वेस्ड कम्पिटिटिभ बिडिङ’ (TBCB) ढाँचाअनुसार विकास गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सितलपाटी (अरुण हब)–इनरुवा ४०० केभी प्रसारण लाइन (करिब ९५ किमी), तिग्ला–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबर ४०० केभी प्रसारण लाइन (करिब १३४ किमी), डाडाखेत–बुर्तिबाङ १३२ केभी प्रसारण लाइन (करिब ३३ किमी) र रिडी–तम्घास १३२ केभी प्रसारण लाइन (करिब २८ किमी) निर्माणका लागि प्रस्ताव मागिएको हो ।
प्राधिकरणका अनुसार एक कम्पनीले एक वा एकभन्दा बढी परियोजनामा आवेदन दिन सक्नेछ, तर मूल्याङ्कन भने परियोजना अनुसार छुट्टाछुट्टै गरिनेछ । इच्छुक कम्पनीहरूले आवश्यक कागजातसहित अप्रिल २७, २०२६ (वैशाख १४, २०८३) सम्म आवेदन बुझाइसक्नुपर्नेछ ।








