काठमाडाैँ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा पेट्रोलियम पदार्थको आयात उल्लेखनीय रूपमा बढेको देखिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा कुल १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो ।
इन्धन आयातबाट सरकारलाई ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । आयात विवरणअनुसार सबैभन्दा बढी डिजेल आयात भएको छ, जसअन्तर्गत ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ७ लाख २ हजार ३०० किलोलिटर डिजेल भित्रिएको छ ।
त्यसैगरी, २५ अर्ब ३० करोड रुपैयाँ बराबरको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ भने २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।
इन्धनको बढ्दो खपतसँगै आयातमा भएको वृद्धि र त्यसबाट संकलित राजस्वले अर्थतन्त्रमा ऊर्जा निर्भरता अझै उच्च रहेको संकेत गरेको छ ।








