काठमाडाैँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीपहिरोका कारण बन्द भएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले आयोजनाको बाँधमा क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प भएको हो ।
ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको रेलेखर्कको फेदीमा रहेको बाँध क्षेत्रमा बाढी पसेर भौतिक संरचनामा क्षति पुगेको आयोजना प्रमुख दार्शनिक काफ्लेले जानकारी दिए । रेलेखर्क क्षेत्रमा पहिरो खसेपछि रेलेखोलामा बाढीको सतह बढ्दा बाँधमा क्षति पुगेको हो । दुर्गम क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण लिन तथा आयोजना पुनः सञ्चालन गर्न कठिनाइ भएको छ ।
गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिँदै आएको थियो । उत्पादन बन्द भएपछि आयोजनाले विद्युत् बिक्री गर्न पाएको छैन। यसैबीच, कालीगण्डकी नदीमा आएको बाढीपहिरोले प्रसारण लाइनका टावर बगाउनुका साथै तारसमेत चुँडाएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजनाका संरचना र प्रसारण पूर्वाधारमा क्षति पुगेपछि विद्युत् उत्पादन तथा प्रसारण दुवै प्रभावित भएका छन् ।











