काठमाडाैँ । असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न विद्युत् संरचनामा क्षति पुग्दा ठूलो परिमाणमा विद्युत् उत्पादन प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाढीका कारण बन्द भएका केही उत्पादन केन्द्र पुनः सञ्चालनमा आइसकेका छन् भने क्षतिग्रस्त संरचनाका कारण बन्द रहेका आयोजना सञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेपछि मात्रै ७ वटा जलविद्युत् केन्द्रबाट उत्पादन हुने १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन । त्यस्तै, प्रणालीबाट बाहिर रहेका ८ वटा आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ । सेती–मादी करिडोरका २६२ मेगावाट, मर्स्याङ्दी करिडोरका १९० मेगावाट तथा कालीगण्डकी जलविद्युत् केन्द्रको १४४ मेगावाट उत्पादनसमेत बाढीका कारण प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
प्रसारणतर्फ कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डमा पर्ने २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाटो अवरुद्ध भएका कारण थप क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
वितरणतर्फ म्याग्दी, बागलुङ, तनहुँको झापुटार, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पाका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको थियो। म्याग्दी, बागलुङ, तनहुँको झापुटार र रुकुम पूर्वमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ भने मुस्ताङ, प्युठान र रोल्पामा सोही दिन अपराह्नसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सेवा सञ्चालन गर्ने योजना प्राधिकरणले जनाएको छ ।
यसैबीच, आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान प्राधिकरणले गरेको छ । माग–आपूर्ति सन्तुलनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट गरी कुल १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। यसबाट सुख्खायाममा कुल २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ बीको २२० केभी हबमा क्षति पुग्नुका साथै विभिन्न जलविद्युत् केन्द्रमा क्षति भएकाले करिब ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ। उक्त क्षेत्रमा प्राधिकरण र सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति अनुमान गरिएको छ ।
प्राधिकरणको विवरणअनुसार बाढी तथा अन्य कारणबाट प्रभावित आयोजनाको क्षेत्रगत कुल क्षमता १ हजार २९२ मेगावाट पुगेको छ । यसमध्ये कुश्मा–दाना क्षेत्रमा ३५८.२ मेगावाट, पोखरा क्षेत्रमा १२१ मेगावाट, मर्स्याङ्दी करिडोरमा १८९ मेगावाट, कालीगण्डकी करिडोरमा १४४ मेगावाट, त्रिशूली करिडोरमा ४३०.८ मेगावाट, सामुन्द्रटार क्षेत्रमा २१ मेगावाट र मोदी क्षेत्रमा २८ मेगावाट रहेको छ ।











