काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा क्षेत्रका आयोजनाहरूमा देखिँदै आएको ढिलासुस्ती अन्त्य गर्दै तीव्र कार्यान्वयनमा जोड दिएको छ । मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय ब्रिफिङ कार्यक्रमपछि जारी प्रेस विज्ञप्तिमा विभिन्न सुधारात्मक तथा कार्यान्वयनमुखी निर्देशनहरू दिइएको हो ।
मन्त्रीस्तरीय उपस्थितिमा सम्पन्न कार्यक्रममा ऊर्जा सचिव, जलस्रोत तथा सिँचाइ सचिव, सहसचिवहरू, विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममार्फत हाल सञ्चालनमा रहेका आयोजनाहरूको प्रगति समीक्षा गर्दै आगामी कार्यदिशा तय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नेपाल सरकारको १०० दिने कार्ययोजनाअनुसार आवश्यक तयारी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ । साथै, विपद् तथा मनसुनजन्य जोखिमलाई ध्यानमा राख्दै ‘प्याटर्न स्टडी’ गरी सम्भावित जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न पनि जोड दिइएको छ ।
यस्तै, सचिवस्तरमा नियमित आन्तरिक बैठकमार्फत प्राथमिकताका आधारमा निर्णय गरी ती निर्णयहरू छिटो कार्यान्वयनमा लैजान भनिएको छ । ढिलाइ भइरहेका र रोकिएका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राख्दै समस्या समाधान गरी तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिइएको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम समयमै तयार पार्न, खर्च क्षमताको मूल्याङ्कन गर्न तथा आवश्यक नीतिगत सुधार गर्न पनि जोड दिएको छ । साथै, बहुवर्षीय योजनाहरूको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गर्दै कार्यक्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गरिएको छ।
प्राथमिकतामा रहेका आयोजनाहरूको अध्ययन, तयारी र कार्यान्वयन प्रक्रियामा देखिएका समस्याहरू पहिचान गरी तत्काल समाधानका लागि पहल गर्न निर्देशन दिइएको छ । चालु आयोजनाहरूमा देखिएका अवरोधहरू हटाउँदै कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालयले विशेष ध्यान दिने जनाएको छ।
मन्त्रालयले ऊर्जा क्षेत्रमा उपलब्ध प्राविधिक जनशक्ति तथा अनुभवलाई सकारात्मक रूपमा उपयोग गर्दै परिणाममुखी कार्यशैली अपनाउन पनि आग्रह गरेको छ । विज्ञप्तिमा समग्र ऊर्जा क्षेत्रलाई गतिशील, उत्तरदायी र परिणाममुखी बनाउन यस्तो निर्देशन दिइएको उल्लेख गरिएको छ ।








