काठमाडौँ । जगदुल्ला हाईड्रो पावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बीच जगदुल्ला–ए जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् निकासीका लागि समझदारी भएको छ ।
मिति २०८२ चैत १६ गते सम्पन्न उक्त समझदारीअनुसार १२४.३५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् ४०० केभी क्षमताको भेरी काेरिडोरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
यो सहकार्य अन्तर्गत आवश्यक प्रसारण पूर्वाधार निर्माण तथा विस्तारमा दुवै कम्पनीले सहकार्य गर्नेछन् । भेरी काेरिडोरको विकाससँगै उक्त आयोजनाको विद्युत् प्रभावकारी रूपमा राष्ट्रिय ग्रिडमा प्रवाह हुने अपेक्षा गरिएको छ ।
सरकारले ऊर्जा उत्पादनसँगै प्रसारण पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिरहेको सन्दर्भमा यो समझदारीलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।








