Thursday, May 14, 2026
spot_img

ऊर्जा क्षेत्रको अवरोध हटाउने प्रतिबद्धतासहित भ्लोनको टिम घोषणा

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढ्दै गएको छ । आगामी जेठ २९ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने क्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम लामा भ्लोनले आफ्नो टिमसहित ‘इप्पान भिजन २०२९’ सार्वजनिक गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा भ्लोनले आगामी तीन वर्षका लागि ऊर्जा क्षेत्र सुधार, लगानी सुरक्षा, विद्युत् व्यापार विस्तार र नीतिगत सहजीकरणलाई केन्द्रमा राख्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ ।

भ्लोन नेतृत्वको टिममा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट रहेका छन् । महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता कडेल तथा कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त उम्मेदवार छन् । त्यसैगरी सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई अघि सारिएको छ भने सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णन लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन् ।

भ्लोन नेतृत्वको टिमले सार्वजनिक गरेको ‘इप्पान भिजन २०२९’ मा मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धिको मुख्य आधारका रूपमा ऊर्जा क्षेत्रलाई स्थापित गर्ने लक्ष्य राखिएको छ । सरकारको आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न ५० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने उल्लेख गर्दै निजी क्षेत्रको भूमिका निर्णायक हुने उनीहरुको भनाइ छ ।

भ्लोनले हाल करिब १२ हजार मेगावाट बराबरका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको अवस्थालाई खुलाउन पहल गर्ने बताएका छन् । साथै पीपीए प्रणालीलाई समयानुकूल र लगानीमैत्री बनाउने, ‘टेक एन्ड पे’ व्यवस्था हटाउने तथा स्टोरेज र पम्प स्टोरेज आयोजनाका लागि छुट्टै दर निर्धारण गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

टिमले जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि ३५ वर्षबाट बढाएर ५० वर्ष पुर्‍याउनुपर्ने माग अघि सारेको छ । वन तथा वातावरणीय स्वीकृतिमा हुने ढिलाइ अन्त्य गर्न ‘एकद्वार प्रणाली’ लागू गर्ने, ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न पहल गर्ने भिजन पत्रमा उल्लेख छ । भारतसँग १० वर्षमा १० हजार मेगावाट र बंगलादेशसँग ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने सरकारी योजनालाई प्रभावकारी रूपमा अघि बढाउन कूटनीतिक पहल आवश्यक रहेको पनि उनीहरुले बताएका छन् ।

भ्लोन नेतृत्वको टिमले इप्पानलाई केवल दबाब समूहको रूपमा नभई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत अघि सारेको छ । ऊर्जा क्षेत्रका नीतिगत अस्पष्टता, प्रशासनिक जटिलता र प्रसारण पूर्वाधारका अवरोध हटाउन सके नेपाल आगामी दशकभित्र दक्षिण एसियाकै महत्वपूर्ण ऊर्जा केन्द्र बन्न सक्ने दाबी उनीहरुको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img