काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागले संखुवा साना जलविद्युत् आयोजिनाको सर्वेक्षण अनुमतिपत्रको दरखास्त रद्द गरेको छ । विभागले हाइड्रो हिल्स प्रा.लि.ले पेश गरेको आयोजनाको सर्वेक्षण अनुमतिपत्रको आवेदन रद्द गरेको हो ।
कम्पनीले ४.९८ मेगावाट क्षमताको उक्त आयोजनाका लागि २०८२ कार्तिक २० गते विभागमा दरखास्त दर्ता गराएको थियो । विभागका अनुसार, प्रस्तावित संखुवा साना जलविद्युत् आयोजना अर्को ठूलो आयोजनासँग जुध्न गएकाले रद्द गरिएको हो ।
विभागका अनुसार यो आयोजना ४०.८ मेगावाट क्षमताको ‘संखुवा खोला १ जलविद्युत आयोजना’ सँग श्रोत (Water Source) र संरचना (Structure) दुवै हिसाबले दोहोरो पर्ने (Overlap) देखिएको छ ।
विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका, २०७५ को दफा ११ को उपदफा (१) को खण्ड (क) बमोजिम उक्त दरखास्त रद्द गरिएको विभागले जनाएको छ ।








