काठमाडाैँ । तनहुँको मार्किचोक स्थित २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या देखिएपछि तनहुँ, गोरखा तथा चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या उत्पन्न भई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो ।
उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी क्षेत्र, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका विभिन्न स्थानमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो । टोलीले राति १२ः४५ बजे लाइन पुनः सञ्चालनमा ल्याए पनि पुनः अर्थिङ प्रणालीमै समस्या देखिएपछि आज बिहान ६ः४७ बजे ट्रान्सफर्मर फेरि बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले जानकारी दिए ।
उनका अनुसार हाल वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ । ट्रान्सफर्मर मर्मत गर्न सकिने अवस्था भए तत्काल मर्मत गरिने र आवश्यक परे नयाँ ट्रान्सफर्मर प्रतिस्थापन गर्ने तयारी समेत गरिएको छ ।
हाल पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको काम गरिरहेको जनाएको छ ।








