Monday, June 8, 2026
spot_img

निर्धारित समयभन्दा ४ महिना अगावै उत्पादन गर्ने लक्ष्यमा दूधपोखरी चेपे

spot_img

Share

spot_img

काठमाडाैँ । गोरखा र लमजुङ जिल्लाको सिमानामा निर्माण भइरहेको ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको हाइड्रो मेकानिकल तथा सिभिल संरचनाहरूको परीक्षण (वेट टेस्टिङ) सुरु भएसँगै यो आयोजना व्यावसायिक विद्युत् उत्पादनको नजिक पुगेको हो ।

आयोजना प्रवर्द्धक दुधपोखरी चेपे हाइड्रो पावर कम्पनीका अनुसार अहिले मुख्य संरचनाहरूमा पानी प्रवाह गराएर इन्टेक, डिस्यान्डर (बालुवा थिग्र्याउने पोखरी), पेनस्टक पाइप र सर्ज ट्याङ्कको परीक्षण भइरहेको छ । यस परीक्षणले संरचनाहरूको सुरक्षित सञ्चालन, चुहावट नियन्त्रण तथा डिजाइनअनुसारको कार्यक्षमता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

आयोजनाका इन्जिनियर प्रतिक आचार्यका अनुसार हाइड्रो मेकानिकल र सिभिलतर्फका सम्पूर्ण काम सम्पन्न भइसकेका छन् भने अहिले इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम तीव्र गतिमा भइरहेको छ । “इलेक्ट्रोमेकानिकलको काम पनि असारभित्रै पूरा गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ,” आचार्यले भने ।

विद्युत् खरिद सम्झौता (PPA) अनुसार आयोजनाको उत्पादन तालिका आगामी कात्तिक महिनासम्म रहे पनि कम्पनीले निर्धारित समयभन्दा करिब ४ महिना अगावै राष्ट्रिय प्रणालीमा विद्युत् जोड्ने गरी काम अघि बढाएको छ ।

गण्डकी प्रदेशअन्तर्गत गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिका क्षेत्रमा अवस्थित यो आयोजना चेपे खोलामा आधारित रन–अफ–रिभर (RoR) प्रकृतिको हो । आयोजनाले १.५ घनमिटर प्रतिसेकेन्ड डिजाइन डिस्चार्ज र करिब ८४७ मिटर नेट हेड प्रयोग गरी ११ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

आयोजनामा जडान गरिएका दुईवटा पेल्टन टर्बाइनमार्फत वार्षिक करिब ६९.३४ गिगावाट आवर ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये वर्षायाममा ४५.४४ गिगावाट आवर र सुख्खायाममा २३.९० गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत करिब २२ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको किर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

कम्पनीका अनुसार अधिकांश निर्माण तथा उपकरण जडानका काम सम्पन्न भइसकेका छन् भने आयोजनाको प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । वेट टेस्टिङ सम्पन्न भएपछि टर्बाइन र जेनेरेटरको परीक्षण गरी आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

यो आयोजनाकाे काम ८.८३६ मेगावाट क्षमतामा सुरु गरिएको भए पनि पछि डिजाइन पुनरावलोकन गरी क्षमता विस्तार गरेर ११ मेगावाट पुर्‍याइएको हो । आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा स्वदेशी स्वच्छ ऊर्जाको थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img