काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो विधान गायब भएको तथा विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको भन्ने आरोप निराधार, कपोलकल्पित र भ्रामक भएको जनाएको छ ।
इप्पानले आगामी २०८३ साल जेठ २९ गते २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै उक्त अधिवेशन वैधानिक प्रक्रियाअनुसार नै सम्पन्न हुने स्पष्ट गरेको छ । हाल इप्पानमा ७०० भन्दा बढी कम्पनी सदस्य आबद्ध छन् ।
इप्पानका अनुसार २०८० साल जेठ ३२ गते सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । उक्त समितिले २०८२ साल जेठ २९ गते संस्थालाई महासंघका रूपमा रूपान्तरण गर्ने प्रस्तावसहितको विधान पुनर्लेखनसम्बन्धी सुझाव संस्थालाई बुझाएको थियो ।
समितिको प्रतिवेदनमाथि २०८२ साल असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभामा छलफल भई त्यसको कार्यान्वयनका लागि संस्थाका अध्यक्षलाई अख्तियारी प्रदान गरिएको थियो । तर महासंघमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढ्न नसकेपछि २०८३ साल वैशाख ४ गते सम्पन्न २००औँ कार्यसमिति बैठकले इप्पानको विद्यमान विधान–२०७८ अनुसार २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
त्यसैगरी, २०८३ साल जेठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकले विधान–२०७८ संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ । प्रस्तावित संशोधनअनुसार विधान संशोधनपश्चात् एक कार्यकाल कार्यसमितिमा रही योग्यता पुगेका व्यक्तिले अध्यक्ष पदमा उम्मेदवारी दिन सक्नेछन् भने अन्य सबै पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सकिने व्यवस्था गरिनेछ ।
बैठकले सर्वसम्मत रूपमा सम्पूर्ण निर्वाचन प्रक्रियामा सहभागी भई २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने निर्णयसमेत गरेको जनाएको छ ।
इप्पानले २०८३ साल वैशाख ४ गते सम्पन्न कार्यसमिति बैठकले सर्वसम्मत रूपमा साधारणसभा तथा अधिवेशन आयोजना गर्ने निर्णय गरेको उल्लेख गर्दै विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको जनाएको छ । समितिको प्रतिवेदनमा छलफलका क्रममा विभिन्न व्यक्तिहरूले दिएका सुझावहरू समेत समावेश गरिएको संस्थाको भनाइ छ ।
यसैबीच, इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा विधान गायब भएको तथा विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको आरोप लगाएको भन्दै संस्थाले त्यसको घोर भर्त्सना गरेको छ । इप्पानले यस्ता अभिव्यक्तिले संस्थाप्रति नकारात्मक सन्देश प्रवाह गर्ने भन्दै आरोपहरूको कडा शब्दमा खण्डन गरेको छ ।
‘सम्पूर्ण ऊर्जा व्यवसायीहरूको साझा संस्था इप्पान विधानको परिपालनाप्रति गम्भीर छ । विधान गायब भएको वा विधानविपरीत गतिविधि भइरहेको भन्ने आरोपहरू पूर्ण रूपमा निराधार छन्,’ इप्पानले जनाएको छ ।
संस्थाले आगामी जेठ २९ गते कार्यसमितिको निर्णयबमोजिम वैधानिक रूपमा साधारणसभा तथा आठौँ अधिवेशन आयोजना गर्न लागिएको र त्यसका लागि जेठ ९ र १० गते सार्वजनिक सूचना समेत प्रकाशित गरिसकिएको जनाएको छ । साथै, भ्रामक प्रचारप्रति भ्रमित नहुन तथा साधारणसभा र अधिवेशनलाई सफल बनाउन सक्रिय सहभागिताका लागि सम्पूर्ण सदस्य तथा ऊर्जा व्यवसायीहरूलाई हार्दिक अनुरोध गरेको छ ।








