स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) को २४औं वार्षिक साधारण सभा आगामी २०८३ साल जेष्ठ २९ गते सम्पन्न हुँदैछ । यस गरिमामय साधारण सभाले आफ्ना नियमित एजेन्डाहरू पारित गर्नुका साथै संस्थालाई आगामी दिनमा नेतृत्व प्रदान गर्ने नयाँ पदाधिकारीहरूको चयन समेत गर्नेछ । सर्वप्रथम, म यस २४औं साधारण सभाको पूर्ण सफलताको कामना गर्दछु । साथै, नयाँ नेतृत्वमा चयन भएर आउने पदाधिकारीहरूलाई यस संस्था मार्फत देशको विद्युत् क्षेत्रको चौतर्फी उन्नतीका लागि काम गर्ने अभूतपूर्व सफलता मिलोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।
नेपालको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय छ । यसै सन्दर्भमा, आगामी दिनमा हाम्रो साझा संस्थालाई कसरी थप सशक्त, व्यावसायिक र गतिशिल बनाउन सकिन्छ भन्ने विषयमा मैले केही महत्त्वपूर्ण बुँदाहरू र मार्गचित्र अघि सारेको छु:
१. आफ्नै संस्था, आफ्नै पहिचान: कर्पोरेट भवनको आवश्यकता
हाम्रो संस्थामा हाल ६५० भन्दा बढी सदस्य कम्पनीहरू आबद्ध भइसकेका छन् । यति ठूलो सञ्जाल भएको संस्थाको आफ्नै एउटा सुविधासम्पन्न ‘कर्पोरेट भवन’ हुनु आजको प्राथमिक आवश्यकता हो । ६५० भन्दा बढी सदस्य संस्थाहरूबाट उनीहरूको क्षमताको आधारमा आर्थिक सहयोग संकलन गरी आफ्नै भवन निर्माणको काम तत्काल अगाडि बढाउन म नयाँ नेतृत्वलाई अनुरोध गर्दछु । हाम्रो संकल्प हुनुपर्छ– “संस्थाको आगामी २५औं वार्षिक साधारण सभा हाम्रै आफ्नै हलमा सम्पन्न हुनेछ ।”
२. विज्ञहरूको थलो र परामर्श सेवाको विस्तार
ऊर्जा क्षेत्र प्राविधिक र रणनीतिक रूपमा जटिल विधा हो । देशका ऊर्जा क्षेत्रका प्रबुद्ध विज्ञ व्यक्तित्वहरूलाई संस्थामा आमन्त्रण गरी ‘मानार्थ सदस्यता’ प्रदान गरौं । उहाँहरूको ज्ञान र अनुभवलाई जलविद्युत्, सोलार, हाइड्रोजन, एवं प्रसारण लाइन (Transmission Line) आदि आयोजनाहरूको पहिचान, अध्ययन, डिजाइन र निर्माणको काममा उपयोग गर्ने वातावरण बनाऔं । सदस्य कम्पनीहरूलाई प्राविधिक र नीतिगत सल्लाहकारको सेवा दिने बलियो संयन्त्र सचिवालयमै स्थापना गरिनुपर्दछ ।
३. ‘एकल द्वार सेवा’ (Single Desk Input) को अवधारणा
हाल ऊर्जा उत्पादक साथीहरू दैनिक रूपमा नेपाल विद्युत् प्राधिकरण, विभिन्न विभाग र मन्त्रालयहरूमा सामान्य कामका लागि पनि धाइरहनु पर्ने बाध्यात्मक अवस्था छ । यो झन्झटिलो प्रक्रियालाई न्यूनीकरण गर्न संस्थाको सचिवालयमा एउटा सशक्त ‘सहयोग डेस्क’ (Help Desk) निर्माण गरौं । सबै कम्पनीका तर्फबाट मन्त्रालय र विभागमा गरिने प्रशासनिक तथा समन्वयकारी कामहरू यही एकल द्वारबाट गर्ने व्यवस्था मिलाइयो भने उद्यमीहरूको समय र ऊर्जा बचत हुनेछ ।
४. जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय सहकार्य
जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा जलविद्युत् आयोजनाहरूमा पर्न थालिसकेको छ । यसको असर न्यूनीकरण र अनुकूलनका लागि संस्थाले वैदेशिक निकाय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग मिलेर संयुक्त अध्ययन तथा प्रतिवेदनहरू तयार पार्नुपर्छ । सचिवालयलाई विज्ञहरू भेटेर यस विषयमा गहन छलफल र रणनीति बनाउने साझा थलोका रूपमा विकास गरिनुपर्दछ ।
५. विद्युत् व्यापार र जलाशययुक्त आयोजनाको पूर्वतयारी
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ भित्रै विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने नीति र कानुन लागू गर्दैछ । अब हामी देश भित्र र बाहिर (अन्तरदेशीय) विद्युत् व्यापारका लागि प्राविधिक रूपमा तयार हुनुपर्छ । यसका साथै सरकारले जलाशययुक्त (Reservoir) आयोजना निर्माणमा पनि निजी क्षेत्रलाई अवसर दिने इच्छा देखाएको छ । यी दुवै नयाँ क्षेत्र भएकाले संस्थामा उच्च तहका विज्ञहरू राखेर अध्ययन र पूर्वतयारीका कामहरू तत्काल सुरु गर्न अति आवश्यक छ ।
६. प्रसारण लाइनमा लगानी र नीतिगत सहजीकरण
नेपालका निजी लगानीकर्ताहरू अब विद्युत् उत्पादनमा मात्र सीमित नरहेर प्रसारण लाइन (Transmission Line) निर्माणमा समेत लगानी र काम गर्न थालिसकेका छन् । यो कदम अत्यन्तै प्रशंसनीय छ । तर यस मार्गमा थुप्रै नीतिगत र व्यावहारिक कठिनाइहरू छन् । नयाँ नेतृत्वले यी समस्याहरू समाधान गर्न सरकारसँग लविइङ गर्ने र लगानीकर्तालाई आवश्यक जानकारी एवं विज्ञ सेवा उपलब्ध गराउन विशेष भूमिका खेल्नुपर्छ ।
७. सूचनाको केन्द्र र अन्तर्राष्ट्रिय मञ्चहरूको आयोजना
हाम्रो संस्था नेपालमा ऊर्जा सम्बन्धी भरपर्दो जानकारी र सूचना प्रवाहको ‘केन्द्रीय हब’ बन्नुपर्छ । संस्थाले प्रकाशन गर्दै आएका जर्नल तथा बुलेटिनहरूको निरन्तरता र गुणस्तरमा अझ वृद्धि गरिनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ऊर्जा सम्मेलन, लगानी सम्मेलन, र विशेषगरी नेपाल–भारत विद्युत् व्यापार केन्द्रित अन्तर्राष्ट्रिय सभाहरूको आयोजनालाई निरन्तरता दिनुपर्दछ ।
८. गैरआवासीय नेपाली र विदेशी लगानीको आकर्षण
विदेशमा बस्ने नेपालीहरू (NRN) सँग ठूलो पुँजी र नेपालको जलविद्युत्मा लगानी गर्ने उत्कृष्ट चाहना छ । उनीहरूको लगानीलाई सही र सुरक्षित मार्ग देखाउन हाम्रो संस्थाले भरपर्दो सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । साथै, ठूला आयोजना निर्माण गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई आवश्यक समन्वय र सहजीकरण गरिदिने साझा संस्थाका रूपमा IPPAN लाई स्थापित गर्नुपर्छ ।
९. नविन प्रविधि र बहुआयामिक सहकार्य
- हाइड्रोजन र रासायनिक मल कारखाना: अब हामी परम्परागत ऊर्जामा मात्र सीमित हुनु हुँदैन । स्वतन्त्र ऊर्जा उत्पादकहरू एकजुट भएर देशमा हाइड्रोजन उत्पादन गर्ने र सोही माध्यमबाट रासायनिक मल कारखाना स्थापना गरी सञ्चालन गर्न नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्नुपर्छ ।
- स्थानीय र प्रदेश सरकारसँग सहकार्य: ऊर्जा उत्पादक कम्पनीहरूले आयोजना स्थलका स्थानीय तथा प्रदेश सरकारसँग सुमधुर सम्बन्ध र सहकार्यको वातावरण बनाउनुपर्छ । स्थानीय सरकारसँग मिलेर काम गर्दा आयोजनाहरू विनाअवरोध समयमै सम्पन्न हुन सक्छन् र विकासको प्रतिफल तल्लो तहसम्म पुग्छ ।
निष्कर्ष: अबको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) को सचिवालय हिजोको जस्तो सामान्य प्रशासनिक कार्यमा मात्र सीमित हुनु हुँदैन । यसलाई थप सशक्त, प्रभावकारी, र गतिशील बनाउन असल प्रशासक र विषयविज्ञहरूको टिम राख्नुपर्छ । हामी ऊर्जा उद्यमीहरू एक्लाएक्लै हिँडेर ठूला चुनौतीहरू सामना गर्न सक्दैनौं, तर सामूहिक रूपमा सहकार्य गर्ने वातावरण बनेमा देशको ऊर्जा क्षेत्रमा ठूलो रूपान्तरण ल्याउन सक्छौं । आगामी नयाँ कार्यसमितिले यी एजेन्डाहरूलाई आत्मसाथ गर्दै संस्थालाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।











