काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हालेको छ । आइतबार आयोजित कार्यक्रममा निर्वाचन समितिले नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएको हो ।
इप्पानको २४औँ वार्षिक साधारण सभाबाट तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको थियो । संशोधित विधान २०७८ अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्य समितिमध्ये डाँगी नेतृत्वमा कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ कार्य समिति चयन भएको हो । नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा बरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरुमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन् ।
बार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधान अनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी सात उपाध्यक्ष पुर्याइएको छ । यसैगरी महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरुमा सचिवहरुमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, , कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित हुनु भएको छ । नयाँ संशोधित विधान अनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पोडेललाई थप गरी सात सचिव पुर्याइएको छ ।
यसैगरी कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् भने सदस्यहरुमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन् । संशोधन विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुने गरी स्थायी आमन्त्रित सदस्यको रुपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेल रहेका छन् ।
कार्यभार सम्हाल्दै अध्यक्ष डाँगीले ‘हाम्रो ऊर्जा, हाम्रो भविष्य: लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारासहित आफ्नो कार्यकालको प्राथमिकता सार्वजनिक गरे । उनले ‘इप्पान भिजन २०२९’ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निजी क्षेत्रको भूमिका विद्युत उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण, व्यापार तथा आन्तरिक खपतसम्म विस्तार गर्ने प्रतिबद्धता जनाए ।

उनले विद्युत् विधेयक, वन विधेयकलगायत ऊर्जा क्षेत्रसँग सम्बन्धित कानुनी तथा नीतिगत जटिलता समाधानका लागि सरकार र संसदीय समितिसँग सक्रिय संवाद अघि बढाइने बताए । साथै, संस्थालाई प्राविधिक रूपमा सुदृढ बनाउन पूर्वसचिवहरूको संयोजकत्वमा ७ देखि ९ सदस्यीय प्राविधिक विज्ञ सल्लाहकार समिति गठन गरिने योजना पनि सार्वजनिक गरे ।
संस्थागत सुधारअन्तर्गत इप्पानलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिने, आगामी अधिवेशनदेखि अनलाइन मतदानको व्यवस्था मिलाइने तथा सदस्यहरूलाई व्यक्तिगत डिजिटल पहुँच प्रदान गरिने अध्यक्ष डाँगीले जानकारी दिए । इप्पानको आफ्नै अत्याधुनिक भवन निर्माणका लागि विशेष कोष स्थापना गर्ने योजना पनि उनले अघि सारे ।
ऊर्जा क्षेत्रको भविष्य जलविद्युत्मा मात्र सीमित नरहेको उल्लेख गर्दै डाँगीले सौर्य ऊर्जा, ग्रीन हाइड्रोजन, ब्याट्री स्टोरेज र बायोग्यासजस्ता नवप्रवर्द्धित ऊर्जामा पनि निजी क्षेत्रको सहभागिता बढाइने बताए ।
निर्वाचनका क्रममा देखिएका मतभिन्नता अब समाप्त भएको भन्दै उनले सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई साझा उद्देश्यका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरे । साथै, संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्शेर जबरालगायत अग्रजहरूको योगदानको सम्मान गरिने घोषणा पनि गरे ।
नयाँ नेतृत्वले सार्वजनिक गरेको १७ बुँदे कार्ययोजनाले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका थप विस्तार गर्दै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।








