Monday, July 13, 2026
spot_img

मर्स्याङ्दी करिडोरको पहिलो सर्किट सञ्चालन, ८० मेगावाट विद्युत् प्रवाह सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष पहल, नेपाल विद्युत् प्राधिकरणको सक्रिय कार्यान्वयन तथा सरोकारवाला निकायहरूको समन्वयबाट मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट मिति २०८३ असार २५ गते राति १०:३५ बजे सफलतापूर्वक नो–लोडमा चार्ज (Energize) गरी परीक्षण गरिएको थियो । त्यसपछि असार २७ गतेदेखि उक्त सर्किटमार्फत विद्युत् प्रवाह सुरु भई हाल करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ।

मर्स्याङ्दी करिडोर आयोजना मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणाली (INPS) मा समाहित गर्ने उद्देश्यले विकास गरिएको राष्ट्रिय महत्वको आयोजना हो । आयोजनाअन्तर्गत मनाङको धारापानीदेखि लमजुङको खुदी, उदीपुर हुँदै तनहुँको न्यू मर्स्याङ्दी (मार्कीचोक) सबस्टेशन र त्यहाँबाट न्यू भरतपुर सबस्टेशनसम्म २२० केभी प्रसारण पूर्वाधार निर्माण भइरहेको छ ।

आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १,६०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता रहनेछ । मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माणमा स्थानीय अवरोध, भौगोलिक जटिलता, वन क्षेत्रभित्र रूख कटान स्वीकृतिमा भएको ढिलाइ तथा अन्य प्राविधिक चुनौतीका कारण करिब सात वर्षसम्म निर्माण कार्य प्रभावित भएको थियो । लमजुङ क्षेत्रमा देखिएको स्थानीय अवरोध करिब १२ वर्षपछि समाधान भएपछि आयोजनाले पुनः गति लिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनालाई उच्च प्राथमिकतामा राख्दै निर्माणमा देखिएका अवरोध हटाउन निरन्तर पहल गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोजना स्थलको निरीक्षण गरी निर्माण प्रगतिबारे समीक्षा गर्नुका साथै सम्बन्धित निकायलाई निर्माण कार्य तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।

स्थानीय अवरोध, अन्तरनिकाय समन्वय तथा अन्य प्रशासनिक चुनौती समाधानका लागि मन्त्रालयबाट आवश्यक नीतिगत समन्वय र सहजीकरण गरिएको थियो । मन्त्रालयको सक्रिय पहल र समन्वयका कारण लामो समयदेखि प्रभावित आयोजना निर्माणले उल्लेखनीय गति लिई मार्कीचोक–भरतपुर प्रसारण लाइनको पहिलो सर्किट सफलतापूर्वक सञ्चालनमा आएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आयोजनाको नियमित अनुगमन गर्दै निर्माणमा देखिएका प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरेका थिए । आयोजनाका प्रमुख नारायण रेग्मी को नेतृत्वमा आयोजना व्यवस्थापन टोलीले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय समुदायसँग प्रभावकारी समन्वय गर्दै निर्माण कार्यलाई अन्तिम चरणसम्म पुर्‍याएको हो ।

तनहुँ तथा लमजुङ जिल्ला प्रशासन कार्यालयले स्थानीय अवरोध समाधान तथा आवश्यक सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । निर्माण कार्य सम्पन्न गर्न स्वतन्त्र विद्युत् उत्पादकहरूको समेत आवश्यक सहयोग र समन्वय प्राप्त भएको थियो । मार्कीचोक–भरतपुर प्रसारण लाइनको पहिलो सर्किट चार्ज भएसँगै न्यू मर्स्याङ्दी (मार्कीचोक) २२० केभी सबस्टेशन राष्ट्रिय २२० केभी प्रसारण सञ्जालसँग प्रभावकारी रूपमा जोडिएको छ ।

अब मर्स्याङ्दी तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा, ढल्केबर लगायत राष्ट्रिय २२० केभी तथा ४०० केभी प्रसारण सञ्जालमा सहज रूपमा प्रवाह गर्न सकिने भएको छ । यसबाट पूर्व–पश्चिम राष्ट्रिय प्रसारण सञ्जाल थप सुदृढ हुनुका साथै विद्युत् प्रणालीको विश्वसनीयता, सञ्चालन लचकता तथा प्रसारण क्षमतामा उल्लेखनीय सुधार आएको छ ।

हाल उक्त प्रसारण लाइनमार्फत करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ । यसबाट विशेषगरी दोर्दी नदी बेसिनका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जान नदिई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न सम्भव भएको छ ।

आयोजना अन्तर्गत दोस्रो सर्किट तथा बाँकी संरचनाको निर्माण सम्पन्न भएपछि मर्स्याङ्दी करिडोरको पूर्ण क्षमता उपयोग गर्दै अझ ठूलो परिमाणमा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न सकिनेछ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा आउनु नेपालको प्रसारण पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हो। यसले स्वदेशी जलविद्युत्को अधिकतम उपयोग, राष्ट्रिय प्रसारण प्रणालीको सुदृढीकरण, ऊर्जा आत्मनिर्भरता तथा भविष्यमा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि महत्वपूर्ण आधार तयार गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img