Saturday, August 1, 2026
spot_img

सामाजिक सद्भाव कायम राख्न इप्पानको अपिल, ऊर्जा आयोजनाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले मुलुकका विभिन्न स्थानमा पछिल्लो समय देखिएका सामाजिक तनाव तथा अशान्तिका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षसँग अपिल गरेको छ ।

इप्पानले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपाल विविध भाषा, धर्म, संस्कृति र समुदायबीचको सहिष्णुता, आपसी सम्मान र सहअस्तित्वका कारण विश्वमै परिचित रहेको उल्लेख गर्दै कुनै पनि असहमति वा विवादलाई संवाद, वार्ता तथा संवैधानिक र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

इप्पानका अनुसार ऊर्जा क्षेत्र मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार भएकाले विद्युत् आयोजना निर्माणका लागि शान्ति, सामाजिक सद्भाव, आपसी विश्वास र सुरक्षित लगानी वातावरण अपरिहार्य हुन्छ । शान्ति र स्थिरता कायम हुँदा मात्र दीर्घकालीन लगानी आकर्षित हुने, आयोजना समयमै सम्पन्न हुने, स्थानीय रोजगारी बढ्ने र राष्ट्रिय अर्थतन्त्रले गति लिने संस्थाको भनाइ छ ।

विज्ञप्तिमा सामाजिक अशान्ति, हिंसा, तोडफोड, बन्द, अवरोध तथा असुरक्षाको वातावरणले विद्युत् आयोजना निर्माणमा प्रत्यक्ष असर पर्ने, लगानीकर्ताको मनोबल कमजोर हुने, उत्पादन लागत बढ्ने, निर्माण अवधि लम्बिने र समग्र आर्थिक गतिविधि प्रभावित हुने उल्लेख गरिएको छ । यसबाट स्थानीय समुदाय, उद्योग–व्यवसाय, श्रमिक तथा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने इप्पानले जनाएको छ ।

इप्पानले वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न निजी तथा सार्वजनिक लगानी विस्तार, ऊर्जा उत्पादन वृद्धि, रोजगारी सिर्जना र औद्योगिक विकास आवश्यक रहेको उल्लेख गर्दै नेपाल सरकार, सम्बन्धित निकाय तथा सरोकारवालासँग उद्योग–व्यवसाय, विद्युत् आयोजना तथा अन्य विकास पूर्वाधारको प्रभावकारी सुरक्षा व्यवस्था गर्न आग्रह गरेको छ ।

त्यसैगरी, सामाजिक, धार्मिक तथा सामुदायिक सद्भाव अभिवृद्धिका लागि नागरिक समाज, निजी क्षेत्र, स्थानीय समुदाय र विभिन्न संघसंस्थाबीच सहकार्य, संवाद तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरी राष्ट्रिय एकता र विकासको अभियानलाई सशक्त बनाउन पनि इप्पानले सबै पक्षलाई आह्वान गरेको छ ।

शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरण नै ऊर्जा विकास, लगानी प्रवर्द्धन, दिगो आर्थिक समृद्धि तथा समुन्नत नेपालको आधार भएको उल्लेख गर्दै इप्पानले सबै नेपालीलाई आपसी सम्मान, सहिष्णुता र एकताको भावनासहित राष्ट्र निर्माणमा सहकार्य गर्न आग्रह गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img