काठमाडाैँ । १२४ मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग ग्रिड जडान सम्झौता (Grid Connection Agreement–GCA) सम्पन्न गरेको छ । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच साउन १८ गते सम्पन्न भएको उक्त सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रक्रियाले महत्वपूर्ण चरण पार गरेको छ ।
ग्रिड जडान सम्झौता विद्युत आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीसँग आबद्ध गर्ने प्रमुख आधार मानिन्छ । यसले आयोजनाको विद्युत प्रसारण तथा राष्ट्रिय विद्युत प्रणालीमा जडानका लागि आवश्यक प्राविधिक र संस्थागत प्रक्रिया अघि बढाउने बाटो खुला गरेको छ । कम्पनीका अनुसार यस उपलब्धिले आयोजना निर्धारित समयमै सम्पन्न गरी राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
कम्पनीले प्रवर्द्धन गरिरहेको यो आयोजना १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनाको सेमी-क्यासकेड (Semi-cascade) परियोजनाका रूपमा विकास गरिनेछ । यसमा माथिल्लो आयोजनाको टेलरेस सुरुङबाट निस्कने पानीलाई पुनः प्रयोग गरी विद्युत उत्पादन गरिने भएकाले नयाँ हेडवर्क्स निर्माण गर्नुपर्ने आवश्यकता पर्दैन ।
आयोजनाको विस्तृत अध्ययन सम्पन्न भइसकेको छ । प्रस्तावित आयोजना डोल्पाको मुड्केचुला गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकामा पर्नेछ। मुड्केचुला गाउँपालिका–१, २, ३ र ४ तथा नलगाड नगरपालिका–१३ आयोजना प्रभावित मुख्य क्षेत्र हुन् ।











