Sunday, November 8, 2026
spot_img

रजौरिया र रिजालको पक्राउप्रति १० इन्जिनियरिङ संस्थाको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

spot_img

Share

spot_img

काठमाडाैँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपालका विभिन्न इन्जिनियरिङ संघसंस्थाले आपत्ति जनाएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) सहित विभिन्न इन्जिनियरिङ तथा प्राविधिक संस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा सम्बन्धित इन्जिनियरहरूको मानव अधिकार र कानुनी अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

संघसंस्थाहरूले अनुसन्धानका नाममा उच्च पदस्थ प्राविधिक नेतृत्वलाई नियन्त्रणमा लिने शैलीले समग्र इन्जिनियरिङ समुदायमा आशंका, असुरक्षा र निराशाको वातावरण सिर्जना गरेको बताएका छन् । उनीहरूले कुनै पनि अनुसन्धान वा सोधपुछ गर्दा कानुनी मान्यता र प्रशासनिक मर्यादाको पालना हुनुपर्नेमा जोड दिएका छन् ।

बोलपत्र तथा खरिद प्रक्रियामा कुनै अनियमितता वा त्रुटिको आशंका भए सार्वजनिक खरिद ऐन, नियमावली तथा स्थापित प्रशासनिक संयन्त्रमार्फत छानबिन, पुनरावलोकन र सुधार गर्न सकिने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता विषयलाई कानुनसम्मत र संस्थागत प्रक्रियाबाट सम्बोधन गर्नुपर्ने उनीहरूको धारणा छ ।

इन्जिनियरिङ संघसंस्थाहरूले प्राविधिक कर्मचारीलाई सोधपुछ गर्दा कानुनी शासन र पेशागत मर्यादाको पूर्ण पालना गर्न, इन्जिनियरहरूलाई सुरक्षित, मर्यादित तथा दबाबमुक्त वातावरणमा काम गर्ने प्रत्याभूति दिन र प्राविधिक नेतृत्वको मनोबल उच्च राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्राविधिक नेतृत्वमाथि मानसिक दबाब सिर्जना हुँदा आयोजना कार्यान्वयनमा समस्या आउन सक्ने तथा पूर्वाधार विकास र निर्माणका काम प्रभावित हुन सक्ने भन्दै उनीहरूले यस्तो अवस्था रोक्न सरकारसँग आग्रह गरेका छन् ।

संयुक्त विज्ञप्तिमा इन्जिनियरहरूको पेशागत मर्यादामा रही गरिएका कार्य तथा निर्णयलाई निरुत्साहित गर्ने वातावरण सिर्जना नगर्न र पूर्वाधार विकास, आयोजना निर्माण तथा नीतिगत कार्यमा नेपाल सरकारलाई साथ र सहयोग गर्न इन्जिनियरिङ समुदाय प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

संयुक्त विज्ञप्तिमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स नेपाल (SCAEF), सोसाइटी अफ नेपाली आर्किटेक्ट्स (SONA), स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल, सोसाइटी अफ ट्रान्सपोर्टेसन इन्जिनियर्स नेपाल, नेपाल भ्यालुअर्स एसोसिएसन, एसोसिएसन अफ कम्प्युटर्स इन्जिनियर्स नेपाल, रिजनल एन्ड अर्बन प्लानर्स सोसाइटी अफ नेपाल, नेपाल जियोमेटिक्स इन्जिनियरिङ सोसाइटी तथा नेपाल हाइड्रोपावर एसोसिएसनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img