काठमाडाैँ । पश्चिम नेपालमा उत्पादन हुने करिब २ हजार ५०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यसहित बझाङ–वनलेक (पश्चिम सेती) ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको हो । विभागले विद्युत् ऐन, २०४९ बमोजिम प्रस्तावित आयोजनाबारे स्थानीयवासी तथा सरोकारवालाबाट राय, सुझाव र प्रतिक्रिया माग्दै सार्वजनिक सूचना जारी गरेको छ ।
प्रस्तावित ४०० केभी डबल सर्किट प्रसारण लाइन ६० किलोमिटर लामो हुनेछ । यसले बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित प्रस्तावित चैनपुर सबस्टेसनलाई डोटीको शिखर नगरपालिका–१० स्थित प्रस्तावित वनलेक (पश्चिम सेती) सबस्टेसनसँग जोड्नेछ। प्रसारण लाइनमार्फत पश्चिम क्षेत्रमा उत्पादन हुने करिब २ हजार ५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गर्न सकिने जनाइएको छ ।
आयोजनाअन्तर्गत चैनपुरमा ४००/१३२ केभी क्षमताको १६० एमभिए र वनलेकमा ४००/१३२ केभी क्षमताको ३१५ एमभिए सबस्टेसन निर्माण गरिनेछ । यस्तै, प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर रहनेछन् । टावरको अधिकतम उचाइ ६१ मिटर, दुई टावरबीचको औसत दूरी ४०८.९९ मिटर तथा न्यूनतम दूरी १२७.७९ मिटर रहने योजना छ ।
आयोजना कार्यान्वयनका लागि कुल २९५.४२३ हेक्टर जमिन आवश्यक पर्नेछ । त्यसमध्ये टावर निर्माणका लागि ३०.४१५ हेक्टर, प्रसारण लाइनको राइट अफ वेका लागि २६५ हेक्टर तथा दुईवटा सबस्टेसन निर्माणका लागि २१.४१५ हेक्टर जमिन प्रयोग गरिनेछ । चैनपुर सबस्टेसनका लागि १४.३७२ हेक्टर र वनलेक सबस्टेसनका लागि ७.०४३ हेक्टर जमिन छुट्याइएको छ । प्रसारण लाइनको राइट अफ वे दायाँ–बायाँ २३/२३ मिटर गरी कुल ४६ मिटर कायम गरिनेछ ।
कम्पनीले आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायत सम्भावित वातावरणीय प्रभावलाई न्यूनतम बनाउने गरी काम गरिने जनाएको छ ।
विद्युत् विकास विभागले प्रस्तावित आयोजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्ने व्यक्ति, संस्था तथा स्थानीय तहलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित राय तथा सुझाव पेश गर्न आग्रह गरेको छ ।











