काठमाडौं। नेपालको ग्रीन हाइड्रोजन उत्पादन अभियानमा भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले लगानीका लागि चासो देखाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा ग्रीनजो इनर्जी इण्डियाका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालले नेपाल सरकारले आवश्यक प्रबन्ध मिलाइदिए आफ्नो कम्पनी, नेपालमा लगानी गर्न इच्छुक रहेको प्रतिबद्धता जनाए ।
जवाफमा मन्त्री बस्नेतले ग्रीन हाइड्रोजनको लागि आवश्यक निती बनाउन पहल गर्ने र एक अध्ययन समिति बनाइ पाइलट प्रोजेक्ट निर्माणमा ग्रिनजो इनर्जी इण्डियासँग सहकार्य गर्ने बताए ।
मन्त्री बस्नेतले हाल भारतको गुजरातमा हाइड्रोजन उत्पादनका लागि इलेक्ट्रोलाइजर मेसिन उत्पादन गरेको ग्रिनजो इनर्जी इण्डियाको अनुभव र फ्युल सेल टेक्नोलोजीको साथै ग्रीन हाइड्रोजनलाई कसरी एकीकृत गर्दा ग्रिड स्थिरता र विद्युत प्रशारणको गुणस्तर सुधार गर्न सकिन्छ भन्ने बारे जानकारी लिए ।
भेटमा अग्रवालले हरित हाइड्रोजनलाई नेपालको तेस्रो प्रमुख ऊर्जा स्रोतको रूपमा स्थापित गर्न सकिने सुझाव दिए । साथै हरित हाइड्रोजनमा २ खर्व रूपैयाँ बराबरको लगानी भित्र्याउन सकिने बताए । सौर्य ऊर्जा उपलब्ध नहुने समयमा र ग्रिडको माग चरम अवस्थामा रहेका बेला साथै रातको समयमा ग्रिडको क्षमतामा निरन्तरता दिन हरित हाइड्रोजनबाट ऊर्जा उत्पादन गरि प्रयोग गर्न सकिने उनले बताए । हाइड्रोजन नीतिमा स्पष्टता र साथै हाइड्रोजनको खरिद सम्झौता निती आएमा नेपालको ऊर्जा क्षेत्रमा २ खर्ब रुपैयाँ भन्दा बढी लगानी आउन तयार रहेको बताए ।
मन्त्री बस्नेतले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न ग्रिनजो इनर्जी इण्डियाको प्रस्तावलाई गहिरो रुपमा लिएको र यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।