काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा काँकरभिट्टाबाट ७ अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात २३ करोड ५२ लाख ७० हजार रुपैयाँ अर्थात् ३.१० प्रतिशतले वृद्धि भएको जनाइएकाे छ । आयात बढेसँगै यस शीर्षकबाट सङ्कलन हुने राजस्वसमेत २.५० प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ५ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस अवधिमा ३ अर्ब ८२ करोड ७० लाख मूल्य बराबरको ४३ हजार १६० किलोलिटर पेट्रोल आयात गरिएको छ ।
यस्तै, २ अर्ब ५३ करोड १६ लाख मूल्य बराबरको २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ । एलपी ग्यासतर्फ एक अर्ब एक करोड ६० लाख मूल्य बराबरको १० हजार ४८० मेट्रिक टन ग्यास भित्रिएको छ ।
त्यसैगरी, ३२ करोड ८२ लाख मूल्य बराबरको ३ हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाख मूल्य बराबरको ६८० किलोलिटर मट्टितेल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।








