काठमाडाैँ । सार्वजनिक यातायात अझै पनि व्यवस्थित हुन सकिरहेको छैन । पुराना अव्यवस्थित गाडीका कारण व्यवस्थित हुन नसकेको यातायात प्रणालीलाई सुधार्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले इन्धनबाट चल्ने गाडीहरूलाई अब प्रतिस्थापन गर्दै ठुला विद्युतीय गाडीलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
आइतबार ट्रली बस स्थापनाको ५० वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा साझा यातायातका निः वर्तमान अध्यक्ष कनकमणी दिक्षितले ट्रली बसको इतिहास हुँदै नेपाल (परिष्कृत स्वरूप) विद्युतीय गाडीको युगमा प्रवेश गरेको बताए । उनले अब त्यस्ता गाडीहरू नेपालमै बनाउनुपर्नेमा जोड दिए ।
उनले भने ‘हामीले जहिले पनि आयातित कुरा किन गर्ने । इलेक्ट्रिक मोटर्स बनाउन सकिँदैन र नेपालमा ? आइसी इन्जिन बनाउन गाह्रो छ । इलेक्ट्रिकल मोटर बनाउन सजिलो छ । सकेसम्म नेपालमै त्यस्ता मोटर बनाउनुपर्छ। यदि सकिँदैन भने पनि विद्युतीय बसहरू आयात नै गरेर मगाउँदा ऊर्जा खपत गर्ने मोटर हुनेछ। मान्छेहरू भन्छन्, पूर्वाधार खर्चिलो छ । योजनाअनुसार गर्ने हो भने विद्युतीय सवारी साधन जसले इनर्जि उपयोग गर्छ, के त्यो नेपालको लागि राम्रा होइन र, चाइनिजले दिएको ट्रली बस एउटा लाइन मात्रै बाँकी रह्यो । अर्को ट्रली लाइनको विस्तार जतिबेला तान्न सजिलै सकिन्थ्यो होला तर हुनै सकेन। यसमा राजनीतिकदेखि भूराजनीतिक कुराहरूले समेत असर गरेको देखिन्छ। विगतको ट्रली बसलाई हेरेर आउँदो दिनको इलेक्टिसिटि ड्रिभन पब्लिक ट्रान्सपोर्ट बनाउनुपर्छ ।’
कार्यक्रममा पूर्वट्रली बस चालक पुण्यप्रसाद भण्डारीले चरम राजनीतिकरणका कारण नाफामूलक ट्रली बसलाई धराशायी बनाइएको बताए । उनका अनुसार अब ट्राली बस सञ्चालन गर्दा २०४६ सालअघि तीन लाखसम्म नाफा हुन्थ्यो तर बिस्तारै बन्दै गर्ने अवस्थामा पुर्याइयो ।
पूर्वचालक भण्डारीले भने ‘२०३२ सालमा शिलान्यास भएको ट्रली बस २०३३ देखि मीन भवनदेखि त्रिपुरेश्वरसम्म ट्रलिबस चलेको थियो। त्यसको अर्को वर्षदेखि सूर्यविनायकसम्म ट्रली बस चलेको थियो । ट्राली बस सञ्चालन गर्दा २०४६ साल अघि अडाइदेखि तीन लाखसम्म नाफा हुन्थ्यो ।’
साझा यातायातका सिइओ भूपेन्द्र ढकालले ट्रली बसको सुरुवात भएको स्थानबाट चीनले अनुदानमा दिन लागेको इभी बस ल्याएर सञ्चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार पूर्वाधार निर्माणको काम ट्रली बस राखिएको भवन बाटै हुँदैछ। जेन–जी आन्दोलनका कारणले बस ल्याउन ढिलाइ भएको उनको भनाइ छ ।
अध्यक्ष ढकालले भने ‘ट्रली बसको सुरुवात भएको स्थानबाट हामी सबैको प्रयासले अब दसैँमै चाइनाबाट अनुदानमा इभी बस ल्याएर सञ्चालन गर्ने योजना गरेका थिर्यौँ । विभिन्न कारणले सकिएन। पूर्वाधार निर्माणको काम हामीले ट्रली बस राखिएको भवन बाटै तयार गर्दैछौं । जेन–जी आन्दोलनका कारणले बस ल्याउन ढिलाइ भएको छ । बस नआउँदा सम्म छिटो ट्रली बस भएको ठाउँ सफाइ गरेर सूर्यविनायकदेखि ट्रलीबस जुन स्पोर्टसम्म चलेको थियो त्यहाँ हामीले परिष्कृत स्वरूप इभी बस चलाउँदैछौं ।’








