नेपालमा लामो समयदेखि ऊर्जा क्षेत्रको अर्थ भनेको जलविद्युत् नै मानिँदै आएको छ । ठूला नदी, ठूला बाँध र मेगावाटको सपनाले ऊर्जा नीति निर्धारणदेखि लगानीकर्ताको प्राथमिकता तय गर्दै आएको छ । तर, पछिल्ला केही वर्षयता परिदृश्य बद्लिंदैछ । जलविद्युत् प्रवर्द्धकहरू नै अब सौर्य आयोजनातर्फ मोडिन थालेका छन् ।
यसको जल्दो बल्दो उदाहरण हो अपि पावर र एसियन हाइड्रो पावर । मिश्रित ऊर्जा उत्पादनमा नेपालकै सर्वोत्कृष्ट बन्दै गइरहेको कम्पनी हो अपि पावर । यो कम्पनीले जलविद्युत् सँगै सौर्य विद्युत् पनि उत्पादन गरिरहेको छ । कम्पनीले हालसम्म ३ सौर्य आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
साथै, जलविद्युत् प्रवद्र्धक कम्पनी एसियन हाइड्रो पावरले पनि ४० मेगावाटको सौर्य आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरीसकेको छ ।
नेपालमा विद्युत् समिश्रणमा बढी बाहुल्यता भएको जलविद्युत् नै हो । सन् १९६८ मा डा. हरिमान श्रेष्ठले गरेको एक अध्ययनअनुसार नेपालको जलविद्युत् उत्पादन सम्भाव्यता ८३ हजार मेगावाट देखाएको छ । सोही अनुरुप अहिलेसम्म करिब ४ हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भएको छ ।
नेपालमा जलविद्युत्को ठूलो सम्भावना भएपनि पछिल्लो समय जलविद्युत् प्रवर्द्धकहरू विस्तारै सौर्य विद्युत् उत्पादनतर्फ पनि लागेका छन् । नेपालमा पर्याप्त घाम लाग्ने हुँदा सौर्य विद्युत् उत्पादनको प्रचुर सम्भावना देखिएको छ । जर्मन अन्तराष्ट्रिय विकास संस्था (जीआईजेड) को सहयोगमा भएको अध्ययनअनुसार नेपालमा ४३२ गिगावाट साैर्य विद्युत् उत्पादन गर्न सकिने अनुमान गरिएको छ । जसका कारण पनि यसतर्फ विद्युत् प्रवद्र्धकहरू आकर्षित हुन थालेका हुन् भन्न सकिन्छ ।
सबैभन्दा पहिले, जलविद्युत् परियोजनाको लामो निर्माण अवधि र उच्च जोखिमका कारण पनि वातावरणीय स्वीकृति, जग्गा अधिग्रहण, स्थानीय प्रतिरोध, प्रसारण लाइन, प्राकृतिक जोखिम, यी सबैले परियोजनाको लागत बढ्दै जान्छ । ५ वर्षभित्र सकिने आयोजनाको निर्माण अवधि १०–१२ वर्षसम्म लम्बिन्छ ।
यहीबीच, सौर्य ऊर्जा सस्तो र छिटो हुन थालेको छ । प्रविधि सस्तो हुँदै गएको, मोड्युलर ढाँचा, र केही महिनामै जडान गर्न सकिने सुविधा भएको कारणले पनि जलविद्युत् प्रवद्र्धकका लागि सौर्य आयोजना नयाँ विकल्प बनेको छ ।
नेपालमा जलविद्युत् उत्पादन गर्ने विषय प्राथमिकतामा रहेपनि जलवायु परिवर्तनका कारण नदीमा पानीको बहावमा घटबढ भइरहेकोले पनि ऊर्जा सुरक्षाका निम्ति सौर्य लगायतका नवीकरणीय ऊर्जाका स्रोततर्फ केन्द्रित हुनु जरुरी भइरहेकोे छ ।
नेपालको ऊर्जा माग दिनको समयमा (पिक–लोड) बढी हुन्छ, तर वर्षायामबाहेक जलविद्युत् उत्पादन घटिरहन्छ । यही अन्तर मिटाउन सरकारले ‘हाइब्रिड मोडेल’लाई प्राथमिकतामा राख्न थालेको छ । एकै परियोजनामा सौर्य र जलविद्युत् जडान गरेरः वर्षायाममा बाँकी ऊर्जा निर्यात, सुख्खायाममा सौर्यले भरपाई, ग्रिडको स्थायित्वमा सहयोग, जस्ता फाइदा अपेक्षा गरिएको छ ।
प्रवर्द्धकहरूका अनुसार सौर्य आयोजनामा बैंकिङ प्रक्रिया सरल, लागत अनुमान स्थिर, राजनीतिक र सामाजिक जोखिम तुलनात्मक रूपमा कम भएपनि सीमित भूमि, सौर्यको अनियमितता, स्टोरेज प्रविधिको खर्च, र ग्रिड क्षमताजस्ता चुनौती अझै छन् । यस्तै, स्थायी समाधानका लागि ब्याट्री स्टोरेज र ग्रिड व्यवस्थापनमा लगानी आवश्यक देखिन्छ ।
विज्ञहरुका अनुसार सौर्यले तुरुन्तै उत्पादन दिने र जलविद्युत दीर्घकालीन आधार रहेकाले पनि दुबैको संयोजनले मात्र ऊर्जा सुरक्षाको भविष्य सुरक्षित हुने बताउँछन् ।











